काठमाडौं, १८ माघ । तेस्रो पटक ह्दयघात भएपछि नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना भएका पूर्व युवराज पारस शाह आज (शुक्रबार) डिस्चार्ज भएका छन् ।

पारस शाहको स्वास्थ्यमा सुधार भएपछि आज डिस्चार्ज दिइएको अस्पतालले जनाएको छ । गत माग १४ गते हृदयघात भएपछि उपचारका लागि भर्ना भएका शाहको स्वास्थ्यमा सुधार देखिएको र हिंड्न, बोल्न र आफै खाना खान सक्ने भएका कारण डिस्चार्ज दिइएको अस्पतालले जनाएको छ । पारसलाई अस्पतालले शुक्रबार ३ः१० बजे डिस्चार्ज दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि, शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्व युवराज शाह मुटुको मुख्य नसा नै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए । बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनले जानकारी दिएका छन् ।

पूर्व युवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको नर्भिक अस्पतालका चिकित्सकले स्पष्ट पारिसकेका छन् । पूर्वराजा ज्ञानेद्रद्रलाई पनि हृदयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ ।

यसअघि पनि दुई पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । पारसको उपचारमा प्रा. डा. यादवदेव भट्टको नेतृत्वमा डा. जेपि अग्रवाल, डा. नग्मा श्रेष्ठ लगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको थियो ।

पारसलाई हेर्न किन आएनन् ज्ञानेन्द्र र हिमानी अस्पताल भर्ना भएपछि छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन पूर्वरानी कोमल शाह सिमराबाट काठमाडौं आएकी थिइन् । तर, उनी छोरा पारसको स्वाथ्य अवस्था बुझेर भोलिपल्ट नै सिमरा फर्केकी थिइन् ।

उता पूर्व राजा ज्ञानेन्द्रले पारसको स्वास्थ्य अवस्था फोनबाट जानकारी लिए पनि हेर्न नै भने आएनन् । यस्तै अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहेकी पारस पत्नी हिमानी पनि नेपाल फर्किनन् ।

पछिल्लो समय पारस–हिमानीबीचको सम्बन्धमा सुधार आएको अनुमान भइरहेका बेला पतिलाई ह्दयघात हुँदा समेत पत्नी हिमानी नआउँदा नागरिकमा चासो बढेको छ । केहि घण्टाको हवाइ यात्राबाट पतिको स्वास्थ्य अवस्था बुझ्न आउन सकिने अवस्था रहँदा–रहँदै पनि पारस पत्नी हिमानीको अनुपस्थितिले पारस–हिमानीबीचको सम्बन्ध अझै सुधार नभइसकेको अनुमान धेरैले गरेका छन् ।

उपचारमा ढिलाई भएको खण्डमा जे पनि हुन सक्ने अवस्थाका पारसको स्वास्थ्यप्रति बुबा ज्ञानेन्द्र शाह र पत्नी हिमानीको यो अनुपस्थितिलाई अनौठो रुपमा हेरिएको छ । उसो त विगतमा पारस शाहको व्यक्तिगत आनीबानी र जीवनशैलीका कारण पूर्व राजा ज्ञानेन्द्र र पत्नी हिमानी असन्तुष्ट रहँदै आएका थिए । यस्तै पारसकै कारण शाह परिवारप्रति विभिन्न जिज्ञासाहरु उठ्ने गरेको थियो । तर, विगतका कुरालाई लिएर जे पनि हुनसक्ने अवस्थाका पारसलाई बुबा र पत्नीले नै वेवास्ता जस्तै गर्नुले नेपाली नागरिकमा चासो बढाएको भने छ ।