पोखरा – पोखरामा नेविसंघ कार्यकर्ताले पेट्रोल छर्केर बा१झ ५८७९ नम्बरको पिकअप भ्यानमा आगजनी गरेका छन् ।
पोखरामा बिदाको दिन सरकारी गाडी चलाएको भन्दै सडकमा गुडिरहेको सो गाडीमा भएको आगजनीले गाडी जलेर ध्वस्त भएको छ ।
सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेविसंघको शनिवार सरकारी गाडी चल्न नदिने निर्णय गरेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । सवारीसाधनको दुरुपयोग बढेकोले शान्तिपूर्णरुपमा नियन्त्रण गरेर प्रशासनलाई बुझाउने कार्यक्रम रहेपनि आक्रोशमा त्यस्तो घटना भएको हुनसक्ने बताए ।
नेविसंघमाथि आशंका गरिएपनि कसले जलायो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनायो । पोखरा महानगरपालिकामा स्वास्थ्य विभागको परीक्षा सञ्चालनका लागि कर्मचारी लिन जाँदै गरेको गाडी २ युवाले रोकेर जलाएको स्थानीयले बताए ।
जिल्ला समन्वय समितिबाट हालसालै पोखरा महानगरपालिकाअन्तर्गत आएको गाडी मर्मत गरेर शिक्षा विभागले प्रयोग गर्दै आएको महानगर प्रवक्ता धनबहादुर नेपालीले बताए ।










