भद्रपुर । भद्रपुर ४ स्थित झिलमिलिया पुल नजिक शनिवार दुई वटा मोटरसाइकल दुर्घटना भएको छ । छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी तीन जना घाइते भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
चाराआली– केचना सडक खण्ड अन्तरगत भद्रपुरको झिलमिलिया पुल जाने सडक कालोपत्रे भएदेखि सो स्थानमा सवारी दुर्घटना बढ्न थालेको हो । यसैक्रममा झिलमिलिया पुल नजिकै ज्ञानेचोकबाट भद्रपुरतर्फ आइरहेको मे ९ प ३६६५ नम्बरको मोटरसाइकलले पैदलयात्री भद्रपुर ४ निवासी ३० बर्षीय पुगढ राजवंशीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट पैदलयात्री राजवंशी घाइते भएका छन् । यता मोटरसाइकल चालक हल्दिवारी २ निवासी २४ बर्षीय सुनिल सुरेन समेत घाइते भएको वडा प्रहरीका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । घाइते दुवैको पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ, भने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।
त्यसैगरी झिलमिलिया पुल नजिकै पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको मे १० प २२२० नम्बरको स्कुटी आफ्ै अनियन्त्रित भई दुर्घटना हुदाँ स्कुटी चालक भद्रपुर ४ निवासी ३६ बर्षीय राजेश तामाङ घाइते भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घाइते तामाङको अवस्था गम्भिर रहेको उनलाई उपचारका लागि बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।










