गाईभैसीले खाने दाना, परालको मूल्य आकाशिदा किसानले बेच्ने दूधको मूल्य बढ्न नसकेको भन्दै दुग्ध व्यवसायीहरु सरकार प्रति आक्रोशित भएका छन् ।
सरकारले तत्काल दुधको मूल्य २५ प्रतिशत बढाउनु पर्ने किसानहरुको माग छ । पश्चिम चितवन व्यवसायिक पशुपालन कृषक समूह अन्तर्गत गठन भएको संघर्ष समितिका संयोजक शंकरराज राजभण्डारीले बिहीबार प्रेस विज्ञप्ति निकालेर सरकारले झारा टार्ने हिसाबले सामान्य मूल्य बढाउन लागेको बताए । चितवन जिल्ला दुग्ध सहकारी संस्थाका पूर्व अध्यक्षसमेत रहेका राजभण्डारीले किसानको माग बमोजिम मूल्य नबढे आन्दोलन गर्ने बताए ।
‘एक दुई रूपैयाँ मूल्य बढाएर दुग्ध व्यवसाय गर्ने फ्याक्ट्रीहरुले किसानलाई थामथुम पार्न खोज्दैछन् । अब हामी यसरी मान्दैनौं’ राजभण्डारीले प्रेश विज्ञप्तिमा चेतावनी दिएका छन् । उनले दूधको मूल्य २५ प्रतिशत नबढाए तत्कालै आन्दोलनमा जाने बताएका छन् ।
उचित मूल्य नपाउँदा किसानहरुले गाई भैसी पाल्न छाडेको राजभण्डारीको भनाइ छ । जसले गर्दा देशमा दैनिक चार लाख लिटर दुध अपूग भएको तथ्याङ्क उनले दिएका छन् । देशमा दूध उत्पादन घट्दा किसानलाई मात्रै घाटा नभएर सरकारलाई पनि नोक्सानी भएको उनले बताए । यसले देशबासीले पाउने पोषिलो पदार्थ दूधसमेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता उत्पन्न हुने उनले दाबी गरे ।
किसानसँग चिल्लो पदार्थसमेत रहेको दूध प्रति लिटर ३५ देखि ४० रूपैयाँसम्म किनेर डेरी उद्योगले चिल्लो पदार्थ झिकेर ६० देखि ८० रूपैयाँ लिटरसम्म बेच्ने गरेको उनले बताए । किसान घर जग्गासमेत बेचेर व्यवसायबाट पलायन हुने अवस्थामा पुगे पनि व्यपारीहरुको आर्थिक हैसियत अकल्पनीय रुपमा बढेको उनको गुनासो छ ।
चितवनमा दुग्ध सहकारीहरु मात्रै १५० रहेको जानकारी राजभण्डारीले दिए । ‘मूल्य वृद्धिकोे सन्दर्भमा चितवनको दुग्ध सहकारीले विगतमा धेरै ठूलो आन्दोलन गरेर किसानको पक्षमा सरकारलाई झुक्न बाध्य बनाएका छन् । अब पनि सहकारी जुर्मुराउने हो भने आन्दोलनको लहर ठूलै उठ्ने अवस्था छ’ राजभण्डारीले भने ।
जिल्ला सहकारी संघले यो विषयमा ठोस पहल गर्नुपर्नेमा अबेला भएको पनि राजभण्डारीको गुनासो रहेको छ । व्यवसायिक पशु पालन कृषक समूहको सञ्जाल चितवन जिल्लाभर मात्रै नभएर केन्द्रमा समेत रहेका कारण समूहमार्फत राष्ट्रव्यापी आन्दोलन उठाउन पहल गर्ने उनले बताए ।
दुग्ध उत्पादन व्यवसायमा पछिल्लो समय युवा आकर्षण निकै बढ्दो छ । विदेश जाने तयारीमा रहेका र गएर फर्केमा युवाहरु पनि यो पेसामा लागेका थिए । तर मूल्य नपाउँदा धेरैले गाईभैसी पाल्न छाडेको समूहका जिल्ला अध्यक्ष कृष्णराज भण्डारीले पनि स्वीकार गरेका छन् । केही समयअघि पशुपंछी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी समक्ष उनीहरुले व्यवसाय जोगाउन अपिल गरेका थिए ।
‘किसानका लागि चोक्कर बेच्ने, दाना बेच्ने र किसानको दूध किनेर बेच्ने व्यवसायीहरुले कर्मचारी पनि पाल्छन, गाडी पनि चल्छन् तर हामी झनपछि झन कंगाल हुँदै गएका छौं ।
हाम्रो दुधको मूल्य अरुले खाइदिदा यस्तो अवस्था आएको हो’ दुग्ध उत्पादक किसान खेमराज तिमिल्सिनाले भने । गीतानगरका तिमिल्सिना जिल्लाका सफल दुग्ध किसान मानिन्छन् । उनीसमेत यो पेसाबाट सन्तुष्ट छैनन् ।



