शुरूवात मै कोरिया राम्राकुराहरु धेरै सुनिएको तर नराम्रा भनिने कुराहरु कम मात्र सुनिएको देश भन्न चाहे।जुनकुराहरुको पुष्टि सामाजिक संजालहरुका भित्तामा दैनिकजसो देख्न सकिन्छ।कोरियाको निक्कै सुन्दर प्राकृतिक दृश्यहरु मात्र होइन यहाँको बिकास,खानपिन,बसाई,केही सजिला लाग्ने काम तथा सुबिधा सम्पन्न जस्तो जिन्दगी अझ भनौ भने रमाइलो बसाई सबैजसोको मनमस्तिष्कमा छाप झै बसेको छ।नेपाल,छिमेकी देश तथा खाडीमुलुक गएर गरिएको प्रगती भन्दा कोरिया जानेको प्रगति यी देशमा गरिएको बढी प्रगति भन्दा झन बढी लाग्छ।त्यसैले पनि यो कोरियालाई सबैले आकर्षक गन्तव्य भनिरहेका छ्न।

आकर्षक गन्तब्य भनिदै आइएको कोरिया जाने सपना जो कोहिले पनि बुन्न सक्छ्न।महिनाको डेढ लाख माथी कमाइ हुने जो सुकैको मुखबाट सुन्ने बानी जस्तो परेको छ आजकाल हामीलाई ।त्यसैले त महङी र खर्चको कुरा कमै मात्र थाहा हुन्छ।केही ब्यक्तीका सफा,सजिला काम र धेरै आम्दानी हुने कुराहरु देख्ने र सुन्ने गरेका हामिले निक्कै धुलो-धुवा-फोहोरयुक्त,कठिन र कम आम्दानी हुने यथार्थ सुन्ने मन गर्दैनौ हामी, न त बिश्वास नै गर्दछौ।यसैले गर्दापनि बर्सेनि हजारौ युवायुवतीहरु इपिएस परिक्षाको फाराम भर्ने गरेका हुन्छ्न।जसमध्ये कतिपय मेहनत गर्दागर्दै पनि असफल हुन्छ्न भने कतिपय मात्र सफल हुने गर्दछ्न।
हो भाषा परिक्षा पास गरेपछि कोरिया जाने आश गर्नु स्वभाविक नै हो तर कोरिया जानका लागि भाषा परिक्षा उत्तीर्ण भएर मात्र हुदैन।उत्तीर्ण पस्चातपनि इपिएस प्रणालीका विभिन्न प्रक्रियामा योग्य हुन जरुरी हुन्छ।तबमात्र कोरिया सपना पूरा हुनसक्छ।भाषा परिक्षा पास गरेको छु, ढुक्कैले कोरिया जान पाइन्छ भनेर आफुले गर्दै आएको काम छोडेर बस्ने हतार नगरौ।साथै तडकभडक को जिन्दगिको सोच गर्दा पनि ग्यारेन्टी रोजगार नभएको कोरिया जान नपाएर तनाब बढ्न सक्छ।यसरी तनाब बढ्दै गए दुर्घटनाको जोखिम समेत हुनसक्छ।वास्तबमा कोरिया सपना के कस्तो हो त ?भन्नेबारे केही पहिले मैले कोरिया नेपाल अनलाइन खबरमा यस्ता बिचार राखेको थिए जुन बिचारले कोरिया सपनाबारे थप ज्ञान तथा जानकारी मिल्न सक्छ।
लोभलाग्दो कोरिया सपनाको वास्तबिकता
बिगत केही बर्षहरु देखि कोरिया रोजगारलाई निक्कै आकर्षक गन्तब्यको रुपमा हेरिने गरिएको छ।त्यसैले पनि सानो कोटाका लागि हजारौं हजार नेपालीहरु आफ्नो सपना पूरा गर्न आवेदन तथा सरकारी तवरबाट लिइने इपिएस भाषा परिक्षामा सामेल हुने गर्दछ्न।कोरियामा निक्कै गाह्रो काम छ,रुपिया पनि छ त्यो यथार्थलाई नकार्न मिल्दैन ।कहि कतै कसैलाई सजिलो काम मिलेता पनि समग्रमा कोरियाको रोजगार एउटा फलामको चिउरा चपाए जस्तै हो ।तैपनी यो भुल्नु हुदैन कि तपाइले कोरिया आउन/ जाने भनेर नेपालमा खर्चिएको समय र पैसालाई।वास्तबमा कोरिया जान निक्कै संघर्ष गर्नैपर्छ ।कति तनाब झेल्नु पर्दछ तबमात्र कोरिया सपना पूरा गर्न सम्भव देखिन्छ तरपनी ग्यारेन्टी भने हुदैन।
कोरिया भाषाको पढाइ देखि पटक पटक परिक्षा दिदा समेत नाम निस्कन गाह्रो हुन्छ।अर्कोकुरा फाराम भर्न साथिभाइका विभिन्न भ्रामक कुराहरुले गर्दा हो कि भनेर अघिल्लो दिन देखि नै २८-३० घन्टा झरी चिसो मच्छ्डको समेत प्रवाह नगरी लाइन बस्नुपर्ने पनि हुन्छ।त्यस्तै पटक पटक राजधानी भन्दा बाहिर भएकाहरु राजधानी या तोकिएका ठाउमा आउनु पर्दाको सास्ती अर्कोतिर छ।उता पास भइसकेपछी उमंगित मनमा उता रोस्टरमा ढिलो नाम चढ्दा थप तनाब हुन सक्छ।अर्कोतिर लेभर कन्ट्रयाक्ट LC सहि(साइन) चाडो नहुन पनि सक्छ।त्यस्तै पुलिस रिपोर्ट,बैंक लगायतका कामका लागी हरेक कदम कदम जस्तोमा भोक भोकै लाइन बस्ने,दौडधुप गर्नुपर्ने हुनसक्छ। त्यस्तै तालिमको लागि कुर्नुपर्ने हुन्छ।अर्कोतिर मेडिकल सफल हुन्छ हुदैन त्यसको डर हुन्छ।मेडिकल सफल भएन भनेमात्र पनि पास भएर बुनेको सपना तुहिन सक्छ। अर्कोतिर उडान मिति बार बार सर्ने गर्छ।कहिले हुन्छ होला,भोलि भैदिए हुन्थ्यो भनेर कामना गर्नुपर्ने पनि हुनसक्छ।
अर्कोतिर बल्लतल्ल नेपालको प्रक्रिया पूरा गरेर कोरिया उडन लाग्दा घर परिवार अनि देश छोड्दा रोएको मन कहालीलाग्दो नै हुन्छ। त्यस्तै विभिन्न एयरपोर्टमा घन्टौ सम्मको ट्रान्जिटको झमेला समेत हुनसक्छ। अर्कोतिर कोरिया आइसकेपछी फेरि तीन दिन तालिम लिनुपर्छ।आउदा आउदै मेडिकल हुन्छ।बल्लतल्ल ढुक्क जस्तो भएको मन त्यही मेडिकलको असफलता भैदिदा फेरि नेपाल फर्किनुपर्ने पनि हुनसक्छ।त्यस्तै कोरिया प्रवेश पश्चात् नै के कस्तो कम्पनी छ भन्ने डर-उमंग बढ्ने गर्छ।कतिलाई सोचे जस्तो नपर्न पनि सक्छ।।कोरियाको मौसम समग्रमा नेपाली हावापानी संग मिलेता पनि गर्मीको समयमा कडा नबिसाइ गर्नुपर्ने कामले गर्दा रिंगटा लाग्ने तथा उकुसमुकुस पक्कै बनाएको हुन्छ।
त्यसैले त्यो उकुसमुकुस र नंया नौलो कोरिया बसाई सहज बनाउन रमाइला कुराहरु गर्नुपर्छ।साथिभाइ संग घुमफिर गर्नुपर्छ।एकआपसमा सहयोग गर्नु निक्कै जरुरी हुन्छ।घरपरिवारको अवस्था अनि भोलिको दिनको लागि सजिलो जीवन ब्यतित गर्नुपर्छ भन्ने अठोटको छाप बस्न जरुरी हुन्छ।अनावश्यक खर्च कम गरि चाहिदो मात्र खर्च गरे तनाब कम हुन मद्द्त पुग्छ।केहिको काम सहज हुनसक्छ,राम्रो आम्दानी गर्न सकिने हुनसक्छ सबैको उस्तै नहुन पनि सक्छ।यो देख्दा कोरिया रोजगार हेर्नेलाई ओहो !जस्तो तर यथार्थमा कठिन/तनाबुक्त पनि हुनसक्छ।यसको लागि तयार भएर कोरिया सपना बुन्दा सहज हुनसक्छ।त्यसैले भन्न सकिन्छ कोरिया हेर्दा सुन्दा सहज अनि कदम कदममा तनाब तथा झमेला पक्कै छ।









