
उत्तर कोरियाले परीक्षण गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल अमेरिकाको मुख्य भूमिलाई निशाना बनाउन सक्ने क्षमताको रहेको जापानको रक्षा मन्त्रालयले बताएको छ।
उत्तर कोरियाले प्रहार गरेको मिसाइल एक हजार किलोमिटरको दूरी पार गरेर होकाइदोको पश्चिमबाट करिब २१० किलोमिटरको दूरी खसेको जापानले जनाएको हो।
अमेरिकाले मिसाइल परीक्षणको निन्दा गरेको छ। यस्तै, दक्षिण कोरियाले उत्तरविरुद्ध कडा प्रतिबन्धात्मक कदम चाल्न आदेश दिएको छ।
उत्तर कोरियाको विदेशमन्त्रीले कोरियाली प्रायद्विपमा अमेरिकाको सैन्य उपस्थितिलाई लिएर कडा प्रतिक्रिया दिएका थिए। सोही दिन उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल समेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
गएको आइतबार अमेरिकी राष्ट्रपति जो बाइडेन, उत्तर कोरियाका राष्ट्रपति यून सुक-यओल र जापानका प्रधानमन्त्री फुमिओ किशिदाबीच कम्बोडियामा भेट भएको थियो। सो बैठकमा तीन देशका नेता आपसमा सैन्य सहकार्य बढाउन सहमत भएका थिए । त्यसको जवाफमा उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो।
शुक्रबार अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी प्रवक्ता एन्ड्रिएन वाट्सनले उत्तर कोरियाले गरेको मिसाइल परीक्षण र त्यसको क्षमताबारे राष्ट्रपति बाइडेनलाई जानकारी गराइएको र अमेरिकाले साझेदार देशसँग सल्लाह गर्ने बताइन्।
उत्तर कोरियाले पछिल्लो दुई महिनामा ५० भन्दा बढी मिसाइल प्रहार गरेको छ । अधिकांश छोटो दूरीमा मारहान्न सक्ने खालका हुन्। तर लामो दूरीका मिसाइल कम भए पनि अमेरिकासम्म जोखिम हुने देखिएको हो।
पछिल्लोपटक बिहीबार उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । सो मिसाइलले एक हजार किलोमिटरको यात्रा गरेको थियो।