ढाका– ‘विमान चालकले केही गल्ती गरेका थिए तर यदि ‘हवाई ट्राफिक कन्ट्रोल’ले चाहेको भए यस्तो दुर्घटना रोक्न सकिन्थ्यो,’ बंगलादेश नागरिक उड्यन प्राधिकरणका अध्यक्ष एम नाइम हस्सनले सोमबार ढाकामा भने । नेपालको नागरिक उड्यन प्राधिकरणले उक्त दुर्घटनाबारे एक रिपोर्ट सार्वजनिक गरेपछि बंगलादेशको आधिकारिक धारणा स्वरुप हस्सनको धारणा आएको हो ।
अघिल्लो वर्ष मार्च १२ मा ढाकाबाट उडेको यूए–बंग्लाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको समयमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार कुल ५१ यात्रुमध्ये २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो ।
नेपाल सरकारले सो दुर्घटनाको अध्ययन गर्न एक आयोग गठन गरेको थियो । आइतबार ‘दुर्घटना अनुसन्धान आयोग’ले आफ्नो रिपोर्ट सार्वजनिक गरिसकेको छ । अनुसन्धानदाताहरुले जहाजको दुर्घटनाको लागि ‘क्रु सदस्यले पारिस्थितिजन्य होस गुमाउनु’लाई जहाज दुर्घटनाको प्रमुख कारण बताएका छन् ।
रिपोर्टमा विमानको क्याप्टेन अविद ‘भावनात्मक रुपमा विक्षिप्त भएको देखिएको’ बताइएको छ । विमान उड्नुअघि एक महिला सहकर्मीले क्याप्टेन अविदको क्षमतामा प्रश्न गरेपछि उनी तनावमा रहेको र ‘भावनात्मक रुपमा विक्षिप्त’ रहेको रिपोर्टमा उल्लेख छ ।
‘यसको साथै दुवै क्रुले महत्वपूर्ण क्षणमा स्थापित सञ्चालन नियमावली अनुसरण गर्न असक्षम हुँदा पारिस्थितिजन्य चेतना गुमाएका थिए,’ रिपोर्टमा भनिएको छ । बंग्लादेशी हवाई फौजका पाइलट रहिसकेका अविदले ५५०० घण्टा उडानमा बिताइसकेका थिए । नेपालमा दुर्घटना भएको बर्म बार्डिएर ड्यास ८ क्यू ४०० जहाज मात्रै उनले १७०० घण्टा उडाइसकेको अनुभव थियो ।
नेपाली रिपोर्ट प्राप्त गरेपछि नेपाली आयोगमा बंग्लादेशी प्रतिनिधि बनेर बसेका सलाउद्दिन रहमुतुल्लाहको साथमा पत्रकार सम्मेलन गरेका अध्यक्ष नेइमले रिपोर्टबारे आफूहरुको धारणा व्यक्त गरे ।
रहमुतुल्लाहले नेपाली आयोगको रिपोर्टमा कुनै गलत सुचना नभएको भएपनि यसले दुर्घटनामा एटीसीको भूमिकाबारे ‘केही सूचना’ लुकाएका आरोप लगाएको छ । ‘आयोगले दुर्घटनाको लागि एक पक्षीय रुपमा पाइलटलाई दोष लगाएको छ ।
यसले क्याप्टनले गल्ति गरेको र अन्तिममा विमानलाई नमिलाइकन अवतरण गराएको भनेको छ । तर थप अनुसन्धानमा हामीहरुले विमानस्थलको एटीसीले विमानलाई माथि लान भन्न मिल्ने प्रशस्त ठाउँ रहेको देखेका छौं । एटीसीले ‘केही बेर उडाइरहनुस् र बाँकी हामी थाहा दिनेछौं’ भन्न सक्थ्यो,’ उनले भने ।
‘यदि एटीसीले ‘तपाईहरु माथि जानुस् र हामीहरु गाइड गर्नेछौं’ भनेको भए दुर्घटना हुँदैंनथ्यो,’ उनले उक्त समय आकास सफा रहेकाले अवतरणको लागि अन्य कुनै समस्या नरहेको बताए ।
उनले अविनले गरेको जस्तो गल्ति ककपिटमा रहँदा हुनु ‘स्वभाविक’ भएको तर कन्ट्रोलरमा बस्नेले यस्तो गल्ती कहिले पनि गर्न नहुने बताए । ‘पाइलट जतिनै अनुभवी भए पनि, विमानस्थलमा एटीसीले तिनलाई नियन्त्रण गर्छन् । उनीहरु एटीसीको निर्देशन मान्न बाध्य हुन्छन्,’ उनले भने ।
उनले कुनै पनि दुर्घटनाको सम्पूर्ण दोष एकै जनालाई मात्र लगाउन नमिल्ने बताए । ‘दुर्घटनामा धेरै तत्वहरु जिम्मेवार हुन्छन् । केही गल्तीहरुले दुर्घटनालाई सम्भव बनाउँछ । यदि एटीसीले चाहेको भए दुर्घटना टार्न सकिन्थ्यो,’ उनले थपे ।
पत्रकारहरुले अविदले ककपिटमा ध्रुमपान गरेको गरेको बारे सोधेको प्रश्नमा रहमुतुल्लाहले विमानमा ध्रुमपानमाथि रहेने प्रतिबन्ध ‘मुख्यत स्वास्थ र सुरक्षा कारण’ले हुने बताए ।
‘तर उक्त दिनको दुरघटनाको कारण ध्रुमपान थिएन । यदि कन्ट्रोलरले स्पष्ट अडान राखेको भए त्यो दिन दुर्घटना हुने थिएन,’ उनले थपे । उनले बंग्लादेशी प्रतिनिधिको ८० प्रतिशत अध्ययन आयोगले रिपोर्टमा समावेश गरेको तर बाँकी २० प्रतिशत छुटाएको आरोप लगाए ।
‘हामीले पाइलटबारे दिएका धेरै कुराहरु उल्लेख गरिएको छ तर एटीसीसँग जोडिएको कुराहरु पूरै हटाइएको छ,’ उनले बताए । रहमुतुल्लाहले अब बंग्लादेशी अधिकारीले नेपाली आयोगलाई पहिले समावेश नगरिएको अध्ययनहरु रिपोर्टमा समावेश गर्न आग्रह गर्ने बताए ।
यदि नेपाली अधिकारीहरुले यस कुरालाई सकारात्मक रुपमा लिएनन् भने बंग्लादेशले अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन(आइकाओ)मा मुद्धा हाल्नेछ,’ उनले थपे । –बिडीन्यूज२४ डट कम बाट










