माघ २३, २०७५

विराटनगर –प्रदेश नम्बर १ स्थितश्रम कार्यालय विराटनगरबाट पुन: श्रम स्वीकृति दिन शुरू गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी श्रम कार्यालय विराटनगरले श्रम स्वीकृति दिन थालेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धनकुटाको चौबीसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्काले विराटनगरबाट पहिलो श्रम स्वीकृति पाए । उनी कतारबाट ३ महिनाको बिदामा घर आएका थिए । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले खड्कालाई कतार फर्किनका लागि पुन: श्रम स्वीकृति प्रदान गरे ।

आफ्नै प्रदेशबाट श्रम स्वीकृति पाएकोमा उनले खुशी व्यक्त गरे । पहिलोपटक आफ्नै ठाउँबाट श्रम स्वीकृति पाउँदा खुशी लागेको छ, काठमाडौंमा ३ दिनसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ,' उनले भने ।

काठमाडौं पुगेर श्रम स्वीकृति लिनुपर्दा निकै झन्झट र समयको बर्बादी हुने गरेको भन्दै उनले खर्च र समयको समेत बचत हुने बताए ।

सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले देशमै राजगारीको अवस्था सिर्जना नगर्दासम्म वैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्न नसकिने बताए । उनले एक नम्बर प्रदेशले युवा लक्षित कार्यक्रम अन्तर्गत ९ हजार युवालाई रोजगारमूलक तालिम दिने तयारी गरेको जानकारी दिए ।

अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा जानका लागि प्रदेशबाट स्वीकृति दिन थाल्नु सकारात्मक भएपनि वैदेशिक रोजगारीमा जाने क्रमलाई रोकेर देशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ लाग्नु पर्नेमा उनको जोड छ ।

मन्त्री घिमिरेले भने, ‘तालिमको माध्यमबाट रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने दरलाई शून्यमा झार्नुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो ।’

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले लामो समयदेखि केन्द्रीकृत रूपमा वितरण हुँदै आएको श्रम स्वीकृति विराटनगरबाट नै वितरण हुनुले आम सेवाग्राहीलाई सहज हुने अपेक्षा राखे ।

श्रम कार्यालय विराटनगरकी निमित्त प्रमुख सविता दाहालले केही महिना अघिदेखि नै शुरू हुनुपर्ने श्रम स्वीकृतिको काम यस प्रदेशमा अन्य प्रदेशभन्दा अन्तिममा परेको सुनाइन् ।

‘केही समस्या थियो, ती समस्या समाधान भएका छन्,' दाहालले भनि, 'अब नवीकरण गर्नुपर्ने श्रम स्वीकृतिको काम यहीँबाट हुन्छ ।’

यद्यपि पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरूले भने शुरूमा काठमाडौंबाटै श्रम स्वीकृति लिनुपर्ने हुन्छ ।

पहिला एकपटक श्रम स्वीकृति पाइसकेकाहरूले सोही ठाउँमा जान श्रम स्वीकृति नवीकरणको काम प्रदेशहरूबाट शुरू भएको हो ।