सल्यान, २३ माघ – सल्यानमा एक युवतीले प्रेमीका लागी आफ्नै छोराको हत्या गरेकी छन् । छत्रेश्वरी गाउँपालिका, ४ सुँगुर पोखरी बस्ने १९ वर्षीया एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पतिसँग राम्रो सम्बन्ध नभएपछि कुनै अपरिचित व्यक्तीसँग फोन सम्पर्कमै प्रेम सम्बन्ध बढ्न थालेपछि आफ्नै चार वर्षीय छोरालाई विष खुवाएर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
उनले ‘अविवाहित हुँ’ भन्दै प्रेम सम्बन्ध कायम राख्न छोरालाई विष खुवाएको बयानमा बताएकी छिन् ।
गत २८ पुसमा घरमै छोराको हत्या गरेको प्रहरी समक्ष खत्रीले स्वीकार गरेकी हुन् । खत्रीले आफ्नो छोरालाई बिषादी खुवाएकी थिइन् । बिष खुवाएपछि भुत प्रेत लाग्यो भनी उपचारको लागि श्रीनगर तर्फ लैजाँदै गर्दा बाटोमै समिरको मृत्यु भएको थियो ।
छोराको शव जङ्गलमा गाडेको स्थानीयले जानकारी दिएपछि प्रहरीले २९ पुसमा खत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा खत्रीले हत्या गरेको स्वीकारेकी हुन् ।










