काठमाण्डौ - कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल बलदेवले कृषि उत्पादनमा विषादीरहित बनाउने प्रयास जारी रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपालमा उत्पादन हुने कृषि उत्पादनमा सामान्य विषादी देखिए पनि डरलाग्दो प्रयोग भने नरहेको बताउनुभयो ।
उपत्यकाको काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौसहित तराईको सर्लाही लगायतका ठाउँमा उत्पादन भएका तरकारीमा अन्य स्थानकोभन्दा केही बढि विषादी प्रयोग गरेको पाइएको बताउनुभयो ।
सरकारले विषादीको मापदण्ड समेत तयार पारेर अघि बढेकाले प्रयोग भएको विषादी पनि बिस्तारै पूर्णतः बन्देज गर्दै लगिने बताउनुभयो । विषादीको वर्गिकरण गरेर रातो संकेत लगाइएको विषादी डरलाग्दो र निलो रंगको संकेत लगाइएको विषादी तुलनात्मक रुपमा सामान्य भनेर वर्गिकरण गरिएको मन्त्री खनालले बताउनुभयो ।
मन्त्री खनालले विषादी वर्गिकरण रातो र निलो रंगमा गरिएको भनेर बताएसँगै प्रश्न गर्ने पालो पाएका कांग्रेसका सांसद मिनेन्द्र रिजालले काठमाण्डौमा पाइने रातो रंगका जेरी र लड्डु पनि सेवनका लागि डरलाग्दो हो ? भनेर सोध्नुभयो ।
रातो र पहेँलो रंग देखिने जेरी र लड्डु सेवनका लागि डरलाग्दो बनेको हो ? भन्दै उहाँले अब कहिलेदेखि जेरी र लड्डुमा हरियो र निलो रंगको प्रयोग हुन्छ भनिदिनुस् भनेर मन्त्री खनाललाई प्रश्न तेर्साउनुभयो ।










