-विष्णुप्रसाद पोखरेल-

दमक । गएको भदौ १ गतेदेखि लागु भएको मूलुकी देवानी संहिताले विवाहको उमेर २० वर्ष तोकेको छ । २० वर्ष अघि भएको विवाहले कानूनी रुपमा मान्यता पाउँदैन ।

तर, झापाको दमकमा भने २८ प्रतिशत भन्दा बढि २० वर्ष उमेर नपुगेका किशोरीले सन्तान जन्माउने गरेका तथ्य सार्वजनिक भएको छ । जिल्लाको सरकारी निकाय दमक नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणमा यो तथ्य सार्वजनिक भएको हो ।

सर्वेक्षणको प्रतिवेदन अनुसार उक्त नगरपालिका भित्र बस्ने १४ वर्षभन्दा कम उमेरका बालिकाहरुले समेत सन्तान जन्माउने गरेको पाईएको छ ।

कुल १५ हजार ७ सय ७१ महिलालाई पहिलो सन्तान जन्मँदाको उमेरको बारेमा गरिएको सर्वेक्षणमा यस्तो भेटिएको हो ।

केही दिनअघि दमक नगरपालिकाको घरधुरी सर्वेक्षणको नतिजा र यहाँको अवस्थाको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रबीच सार्वजनिक गरेका थिए ।

उक्त सार्वजनिक भएको घरधुरी सर्वेक्षणमा सुरक्षित मातृत्वको अवस्थाको विवरण समेत समावेश रहेको छ ।

जसमा ५५ जना अर्थात् ०.३ प्रतिशत महिला १४ वर्षभन्दा कम उमेरमा आमा बनेको उल्लेख छ । ४ हजार ४ सय ७३ अर्थात् २८.४ प्रतिशत महिलाले १५ देखि १९ वर्षकोबीचमा पहिलो सन्तान जन्माएको देखिएको पनि उक्त सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षण प्रतिवेदनका अनुसार ७ हजार ९ सय ८२ अर्थात् ५०.६ प्रतिशत महिला २० देखि २४ वर्ष उमेरमा, २ हजार ६ सय १० अर्थात् १६.५ प्रतिशत महिला २५ देखि २९ वर्ष उमेरमा र ५ सय १३ जना अर्थात् ३.३ प्रतिशत महिला ३० देखि ३४ वर्ष उमेरमा आमा बनेको देखिएको छ । ३५ वर्ष माथि पहिलो पटक आमा बन्नेको संख्या जम्मा १ सय ३८ जना अर्थात् ०.९ प्रतिशत रहेको पाईएको छ ।

कानूनी र प्रजनन् स्वास्थ्यको दृष्टिकोणबाट २० वा सो वर्षभन्दा कम उमेरमा आमा बन्नु गैरकानूनी र मातृ तथा शिशु दुवैको स्वास्थ्यका दृष्टिकोणबाट जोखिमपूर्ण मानिएकाले यो सर्वेक्षणले हामीलाइ गम्भिर बनाएको छ, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले भनिन् ।

शारीरिक, मानसिक, आर्थिक रूपमा अपरिपक्व अवस्थामा गर्भाधान र सन्तान जन्माउँदा हुने समस्याको विषयमा नगरवासीलाई सचेत गराउने उनले बताइन् ।महिलाखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय