काठमाडौं, २५ माघ । सांसद हृदयेश त्रिपाठीले किसानका लागि काम नगर्ने कृषि मन्त्रालयको औचित्य नभएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले किसानको पक्षमा नभई विचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको बताउँदै यस्तो मन्त्रालय खारेज गर्दा हुने बताए । २०३४ साल देखि अहिलेसम्म भएको कूल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीले किसानको नाममा अरुलाई नै फाइदा पुगिरहेको औंल्याए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रहेछ ।’ आफूले पटक–पटक उखु किसानको समस्याबारे कुरा उठाएको तर, सरकारले नसुनेको भन्दै उनले थपे, ‘जसलाई लाज लाग्नुपर्ने हो उसलाई लाज नलागेको हुनाले मलाई पुनः लाज नमानिकन भन्दैछु ।’

जुनसुकै सरकार आए पनि सबै सरकारबाट किसानहरु उपेक्षित हुँदै आएको र विचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मूल्य तोके पनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले कृषि मन्त्रालयको जटिल सर्कुलेशनको कारणले २५ देखि ३० प्रतिशत किसानले मात्रै गत बर्षको उखुको मूल्य पाएको तर यसबर्षको भनते बाँकी नै रहेको दाबी गरे । उनले चिनी मिलहरु ढेड महिनासम्म संचालन नहुँदा गत बर्ष कै उखुको मूल्य किसानले नपाउँदा पनि सरकार भने निरिह र लाचार भएर बसेको आरोप लगाए ।

उनले चिनी उत्पादनका लागि मिल ढिलो चलेको हुनाले जेठ असारतिर चिनीको संकट उत्पन्न हुने उद्घोष गरे । उनले चिनी अभाव भएपछि फेरि चिनी आयातको लागि फेरी विचौलियाहरुको चलखेल बढ्ने दाबी गरे ।

सरकार र उद्योगीले आ आफ्नो हितमा किसानलाई सधै बलि दिने गरेको आरोप उनले लगाए । उनले भने, ‘देवीले बाघ–भालुको बलि मागेको छैन । देवीले माग्ने भनेको नरिवलको बली हो । व्यापारी, उद्योगपति, चिनी उद्योगपति र सरकारको लडाईमा बली चढे उखु किसानहरु । र यी तीन वटैले बलि दिए किसानलाई ।’