चन्द्रगढी ।

झापा चन्द्रगढी घर भएका सुवास कोइरालाले आफूलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भएको बताउँदै विभिन्न स्थानबाट रकम असुलिरहेको रहस्य खुलेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो नाम टीका कार्की भएको बताउँदै उनले विभिन्न नम्बरबाट फोन गरी एक लाख ४० हजार रुपैयाँभन्दा बढी असुलेको बताइएको छ । पार्टीका भद्रपुर नगरपालिका सेक्रेटरी प्रवीण मिश्रले शुक्रवार बिज्ञप्ति जारी गरी उनलाई सात दिनभित्र पार्टी समक्ष आत्मसमर्पण गर्न र सबै रकम सम्बन्धित पक्षलाई फिर्ता गर्दै सार्वजनिक माफी माग्न उर्दी जारी गरेका छन् ।

उक्त समयभित्र सम्पर्कमा नआए उनले प्रयोग गरेको को५प ६९७१ नम्बरको मोटरसाइकल र व्यक्तिगत सम्पत्ति जफत गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिने र कोइरालालाई कार्वाही गर्ने चेतावनी दिइएको छ । उनलाई कसैले देखेमा पक्रेर पार्टीलाई बुझाउन समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

कोइरालाले अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भएको बताउँदै धम्की दिएर विद्युत् प्राधिकरण चन्द्रगढी लगायतका स्थानबाट रकम असुलेको जनाइएको छ ।