सिन्धुलीको मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन्। शनिबार साँझ भएको झडपमा प्रहरीतर्फ तीन र एक जना स्थानीय घाइते भएका हुन्।

झडपमा परी इप्रका कपिलाकोटमा कार्यरत प्रहरी नायब निरीक्षक जीतबहादुर अर्याल, प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले चलाएको गोली लागेर मरिण गाउँपालिका–६ निवासी ४० वर्षीय सार्कीमान मोक्तान घाइते भएका छन्। उनको दाहिने पातामा गोली लागेको छ। प्रहरी र स्थानीयबीचको झडपलाई रोक्न प्रहरीले ४५ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।

घाइते मोक्तानको कपिलाकोटस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलीखेल पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए। घाइते प्रहरीको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

माघ २४ गते मरिण गाउँपालिका–६ धमिले निवासी श्रीध्वज स्याङ्तानको विवाहमा सामान्य विवाद भएको थियो। प्रहरीका अनुसार सोही दिन विवादमा खुकुरी हानाहान हुँदा ५ जना घाइते भएका थिए।

शङ्कर गोले र दोर्जे गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले शुक्रबार नियन्त्रणमा लिएको थियो। उक्त घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चलित्र कार्कीले बताए।