काठमाडौं- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिबद्धताबाट सरकारपछि नहटेको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन् ।

उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक ५ हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि स्पष्ट पारे । उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यहि फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गर्न लागेको जानकारी पनि दिए । आईतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणापत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिबद्धताबाट पछि नहटेको दावी पनि गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनतासँग गरिएको प्रतिवद्धतालाई सरकारले तलमाथि हुन नदिने पनि दोहोर्याए । काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिब ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरि सोही घरबाट वडा कार्यालयको काम सूरु गरिएको हो ।

बालुवाटारस्थित वडा भवन रहेको जमिनमा नयाँ वडा भवन निर्माणको काम सुरु गर्न लागिएकाले सो वडा कार्यालयको काम उक्त कब्जामुक्त गरिएको भवनबाट सुरु गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।