काठमाण्डु, २७ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुयलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको र अब अल्झिनु नपर्ने बताएका हुन् ।
उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्ला एक्लै भेटवार्ता भैसकेको छ । राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’
पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिएको बताए । पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए ।
भेटमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भिर कुराकानी भएको पनि पौडेलले बताए ।










