रुपन्देही, माघ २९

भैरहवास्थित बाल सुधार गृह (बाल कारागार) बाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएको सुधार गृहले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फरार हुनेमा चारजना चोरी मुद्दाका र दुई जबरजस्ती करणीका कैदी र अभियुक्त रहेका छन । १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । बाल सुधार गृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् ।

यसैगरी चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्दामै एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा रहेका छन् ।

यसैगरी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार रहेको बाल सुधार गृह रुपन्देहीले जनाएको छ ।

सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो । त्यहीक्रममा उनीहरुले योजना बनाएर फरार भएको सुधार गृहले जनाएको छ ।

फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी सुरु गरिए पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।