रमेश खरेल

आज फागुन १ गतेसँग मेरो विशेष भावनात्मक सम्बन्ध छ । आजै म भर्ना भएँ नेपाल प्रहरीमा जसले मलाई कर्म–जीवनको एउटा खास प्रवाहमा प्रवेश गरायो, सामाजिक जीवनमा स्थापित हुने एउटा इज्जतिलो माध्यम दियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कर्म नै धर्म मानेर ३० वर्षे जागिरे यात्रा गर्दा मैले धेरै सिक्ने अवसर पाएँ । मेरो सिकाई सबै वर्ग–तप्का, अनि दर्जा भनिने कथित तहहरुसँग सरोवर रुपले अगाडि बढ्यो, बढ्दै छ । मैले सबैसँग सिधा सोधेँ, सिधै सिकेँ । मलाई लाग्छ, गर्न पनि जानेसम्म सिधै गरेँ ।

आज फागुन १ गते, मेरो बसभन्दा बाहिरका पक्षहरुले चाहेको भए मलाई आजै औपचारिक रुपले सेवानिवृत हुने मन थियो । म ११ महिनाअघि नेपाल प्रहरीबाट स्व–निर्णयबाट अलग भएँ, जुन २९ वर्ष लामो सिधा सिकाई–गराईको गरिमा रक्षाका लागि थियो ।

मप्रति माया र सहानुभुति राख्ने–दर्शाउनेहरुले कतिपय हिसावले त्यो निर्णयमा नजान नसुझाएका होइनन् । तर गरिमाको सट्टा अर्थोकको लेखाजोखा राख्ने सिकाईमा म कहिल्यै जान सकिन ।

हरेक मामिलाका आफ्नै ‘एग्लोरिद्म’ हुन्छन् । विज्ञानमा बस्तुगत ‘एग्लोरिद्म’ चल्छ । मानव जीवन नैतिकताको ‘एग्लोरिद्म’ बाट सुन्दर बन्छ । म एउटा सिपाईको ‘एग्लोरिद्म’ मा छिरेँ । त्यो मेरा लागि डिआइजी हुँदासम्म बदलिन सकेन ।

शैक्षिक जीवनमा मैले गणितमा उत्कृष्ट अंकबाट शायदै चुक्न पर्‍यो । तर आजको नेपालमा कुनै लक्ष्यतर्फ ‘स्कोर’ गर्न वैज्ञानिक गणितले काम दिने सम्भावना कम रहेछ । यसमा चलखेलका गणितले काम गर्ने होला । त्यसको एकदमै कम जानकारी छ मसँग ।

मानवीय विवेक र नैतिकताको संगमबाट व्यक्तिगत र आमजीवन सुन्दर बन्ने हुनाले म वैज्ञानिक गणितसँगको लगावलाई चलखेलको गणिततर्फको पकडमा बदल्न उद्यत हुनै सकिन । जे गरेँ, ठिकै गरेँ होला ।

फागुन १ मै फर्कौँ । एघार महिनाको यो फुर्सदमा म धेरै हदमा शान्त रहेँ, भाग्यले जुराएको नयाँ ठाउँमा आफूले धान्नेसम्मको नयाँ बास बनाएँ, परिवारसँग खास अर्थमा नजिक हुने समय पाएँ, आम नागरिकका सन्तापहरुलाई झन नजिकबाट केलाउन पाएँ ।

तर मनमा म सेवानिवृत भइसकेको भन्ने भावना चाहिँ गढ्न सकेन । हरेक बिहान उठ्दा सबैभन्दा पहिला उही प्रतिवर्ती भावना आइरहेको हुन्थ्यो– एउटा सिपाईको दैनिकीमा दौडिहाल्ने हतार । तर मलाई आश छ, भोलिदेखि त्यो ‘रिफेल्क्स’ शायद निकै कम होला ।

अर्थात्, आजबाट खरेल मनबाट पनि प्रहरी सेवाबाट निवृत भयो ।

यतिखेर म नेपाली दाजुभाई दिदीबहिनीहरुमा आफ्नो प्रहरी वृतिको पर्ची बाँड्न चाहन्न । त्यो आवश्यकै छैन । तर मैले चाहेर मेटिननसक्ने एउटा विषय चाहिँ यहाँ पनि पुनरावृत हुन्छ ।

म २७ वर्ष आफ्नो व्याचमा १ नम्बर रहेँ । हठात् २ नम्बरमा झारिएँ । त्यसका कारणहरुको खोजीमा मभन्दा धेरै बढी नेपाल प्रहरीभित्रका इमान्दार व्यक्तिहरु, सामाजिक तप्काका चिन्तनशील, विवेकशील पात्रहरु घोरिए होलान् ।

एउटा खरो सिपाहीभित्रको संवेदनशील मानिस भएकाले निश्चित रुपले समाजमा भइरहेका यावत घटनाक्रमसँग म सरोकारित छु नै ।

मलाई पनि घोच्छ, धेरै घोच्छ । तर कोही केही भएको भए यस्तो हुन्थ्यो भनेर ‘हाइपोथेसिस’ मा जानुभन्दा यति मात्रै सदिच्छा राख्न चाहन्छु–यो देशमा गुणको कदर होस्, जसले समाजलाई स्वतः न्यायपूर्ण वातावरणतर्फ अभिमुख गराउँछ । एउटा सत्यलाई कसैले पछार्न सक्दैन–असल बिउ छरेर मात्र सुअन्न अंकुरित हुन्छ ।

सत्तासिनहरुले लाद्न चाहेको अन्यायलाई मैले आफ्ना हकमा सामाजिक जीवनको फरक आयामतर्फ जाने अवसरमा बदल्न चाहेँ । गल्तिसँग डराउने कमजोरी मेरो चरित्रमा मेरा बाबुआमाले जानी जानी रोपिदिनुभएको हो ।

आफूमाथिको केही जालझेलबाट उत्तेजित भई थिति बिगार्नतर्फ लाग्नुको के अर्थ ? यस्तो मतिमा जानु हुन्न भन्ने ज्ञान मैले वरपरका ज्ञानिगुनीहरुबाट सिकेको हुँ । त्यसर्थ मलाई न्याय भगवानले उसै पनि गरेका छन् । म स्वाभिमान र मुक्तिको सोपान गर्दैछु । जसको जगमा म चाहँदा ध्यानस्थ हुनसक्छ, चाहँदा समाजसामु छाति फुकाएर आउन सक्छु ।

मलाई न हिजो समाज खोक्राउने पात्रहरुकहाँ याचनाशील भएर जानुपर्‍यो, न हुँदै नभएको कृत्रिम नातो सृजना गर्नुपर्‍यो । कहिल्यै पनि त्यो दशाको दास कसैलाई हुनु नपरोस् । मेरो नाता स्वभाविक रुपले सबै चियापसलेहरुसँग छ, ट्याम्पो चालकहरुसँग छ, सडकमा डयुटी गर्ने हरेक सिपाहीसँग छ।

एउटा सिपाहीले इमान्दारिताको बलमा, भाग्यमानी भएर पाउने, दिलाउने सबै मुनासिव कुरा म र मेरो परिवारसँग छ । त्यो सम्भव गराउने श्रेय मेरो फागुन १ सम्मको भावनात्मक यात्रामा साथ दिने सारा सिपाही साथी अनि गुरुवर्गलाई जान्छ ।

जीवनको मुख्य अध्याय हो, वृति । वृतिबाट निवृत भइसकेपछिका पनि अह्म कर्तव्य हुन्छन् । जसलाई त्यही वृतिकै नैतिक धरातलमा टेकाएर जानसक्नु नै सफलता हो । निवृतिसँगै दुई प्रसंगमा समय र ध्यान खर्च गर्नुपर्ने रहेछ–संस्मरण र हस्तान्तरण ।

म आजकै दिन कुरेर बसेको थिएँ, यिनै कर्तव्यको प्रकाशमा केही कुरा समाजलाई भनौँ भनेर । जुन अधिकतर कार्यमुलक छन्, जसमा मेरा भावना अमिट रहने नै भए ।

–म अब नयाँ पुस्तासँग अन्तरक्रियाशील हुन चाहन्छु । आफ्नो अनुभव र कार्यदर्शन बाँड्न चाहन्छु । उनीहरुका नविनतम् विचार सुन्न चाहन्छु । त्यसका लागि आफ्नो बर्कत अनुसार तालिका मिलाएर देशाटनको योजना बनाउँदै छु । यसका लागि म ७७ वटै जिल्लाका विद्यालय, कलेज, सामाजिक अभियन्ता, उद्यमी र गैरसरकारी क्षेत्रसँग सहकार्यनिम्ति तत्पर छु । मेरो मोबाइल नम्बर उही ९८५१०७८१०० हो । विदेशमा बसेका दाजुभाइदिदी बहिनीहरुले सूचनाप्रविधिका सुविधाहरु प्रयोग गरी मसँग अन्तर्क्रिया गर्न सक्नुहुनेछ ।

–म चाहन्छु, नयाँ पुस्ता भ्रष्टाचारको अति संक्रमणीय वातावरणबाट बचुन र अरुलाई पनि बचाउन । त्यो कुरा आफ्नै घरभित्र छ भने पनि त्यसमाथि प्रश्न उठाउन । मलाई मेरै छोराछोरीले भ्रष्ट भनेको खण्डमा कस्तो अनुभव होला ? भ्रष्टाचारलाई निन्दा गर्नु पर्छ, चाहे जो सुकैले गरुन् । त्यसो गर्दाका सामाजिक मूल्यलाई व्यवस्थापन गर्न, आवश्यकता पर्दा पुनर्स्थापनको व्यवस्था गर्न सहयोगी वातावरण बनाउनु पर्छ । त्यसका लागि म नयाँ पुस्तालाई प्रेरित गर्न चाहन्छु ।

–पापबाट धुरीबाट कराउँछ । सत्य बोल्दा अहिले अप्ठेरो पर्ला, तर जीवन सुखी त्यसबाटै हुन्छ । नयाँ पुस्तालाई यो विषयमा अझ विश्वस्त गराउन म साक्षात्कार नै गर्न चाहन्छु ।

–म कहिल्यै कुनै दलीय अभियानमा सहभागी हुन चाहन्न । अन्याय र अत्याचारविरुद्ध लड्न एवम् समाजमा सदगुण प्रवर्द्धनका लागि उत्प्रेरणा जगाउनैमा म बाँकी जीवन व्यतित् गर्न चाहन्छु । त्यति नै काफी छ ।

Source-https://deshsanchar.com/2019/02/13/159016/