प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
सत्तारुढ दलका नेताहरुसँग बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले आयुक्त पाठकले घुस लिएको प्रमाण फेला परेको भन्दै महाअभियोग प्रस्ताव अघि बढाउन निर्देशन दिएका हुन्।
नेपालखबरले आयोगका आयुक्त पाठकले घुसका विषयमा समाचार प्रकासित गरेपछि प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान ससदीय दलका उप नेता सुवास नेम्वाङसहितका नेताहरुको बैठक बालुवाटारमा बसेको थियो।
‘प्रधानमन्त्रीले पहिलेदेखि नै भ्रष्टाचारविरुद्ध ‘जिरो टोलरेन्स भन्दै आउनु भएको छ’ प्रधानमन्त्रीसँगको बैठकमा सहभागी नेकपाका एक नेताले नेपालखबरसँग भने, ‘घुस खाएको प्रमाण फेला परेपछि सो पदमा राख्नुहुदैन भन्नु भएको छ।’
महाअभियोगको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री ओलीले नै निर्देशन दिएपछि नेकपाका केही सांसदहरु यसको तयारीमा लागेका छन्। नेकपा स्रोतले आयुक्त पाठकविरुद्ध चाडै महाअभियोग संसद सचिवालयमा दर्ता हुने जनाएको छ।
संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारीले गलत आचरण गरेमा संसदले महाअभियोग लगाउन सक्ने व्यवस्था नेपालको संविधान २०७२ ले गरेको छ। संविधानका धारा १०१ को उपधारा दुईमा प्रतिनिधिसभामा एक चौथाइ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे सो व्यक्ति निलम्बनमा पर्छ।
तर, प्रस्ताव पारित गराउन दुई तिहाइ बहुमत आवश्यक पर्छ। अहिले सरकारमा रहेका नेकपा र संघीय समाजवादी फोरमसँग संसदमा दुई तिहाई मत छ।
नेपालखबरले बुधबार साँझ अख्तियारका आयुक्त पाठकले स्वामित्व विवाद रहेको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैया घुस लिएको खुलासा गरेको थियो। २०७४ भदौमा पाठकले न्यौपानेबाट दुई पटक गरी ३८ र ४० लाख रुपैया घुस लिएका थिए।
पाठकले न्यौपानेको काम नगरेपछि पछि एक समूहले ‘स्टीङ अपरेसन’ गरेका थियो। सो समूहले भिडियोमा आयुक्त पाठकले घुस लिएको स्वीकार गरेको भिडियो तयार पारेको थियो।
सो भिडियो प्रधानमन्त्री ओली लगायत सत्तारुढ दलका शीर्ष नेताहरु, कर्मचारीहरु, अख्तियारका पदाधिकारीहरुले पनि हेरिसकेका छन्। केही दिनभित्रै सो भिडियो सार्वजनिक गरिने बताइएको छ।श्रोत-https://nepalkhabar.com/np/news/politics/55572/










