विश्वप्रकाश शर्मा जीवनको मूख्य उपलब्धी प्रेमलाई मान्छन्। प्रणय दिवसको पूर्वसन्ध्यामा काठमाडौंको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विश्वप्रकाशले केन्द्रीय समितिको बैठकपछि आफ्नो फुर्सद मिलाएका थिए। कार्यव्यस्ततासँगै उनी हामीसँग प्रेम गीत गुनगुनाउछन्,
‘त्यो मनदेखि यो मनसम्म मन बिछाई मनले मनलाई मन परायो,
‘त्यो आँखादेखि यो आँखासम्म आँखा बिछाई आँखाले आँखालाई मोह लगायो
भन्छन् – जोडी जमेछ
भन्छन् – जादू चलेछ’
यो प्रेमिल र रसिक शैलीको रहस्य सोध्दा उनले प्रतिप्रश्न गरे, ‘कल्पना गर्नुस्, यदी रुखमा पात छैन भने, नदिमा पानी छैन भने, हावामा अक्सिजन छैन भने के हुन्छ ? धर्तीमा प्रेम छैन भने सबै समाप्त हुन्छ। संसारलाई संसारको रुपमा चलाउन प्रेम आवश्यक तत्व हो।’
प्रेममा परेर साहित्यिक हुनुभएको हो ? भनी सोध्दा उनले सरल उत्तर दिए, ‘साहित्य कोही भोगाईमा परेर लेख्छन् त कोही कल्पनामार्फत लेख्ने गर्छन्। मेरो अधिकांश कवितामा कल्पना मिसिएका छन्।’
सामान्यतया युवा उमेरमा धेरैलाई मन पराउनु स्वाभाविक हो। तर माया गर्ने भन्ने कुरा अर्काे हुन्छ। एट्रयाक्सन र माया फरक कुरा हो।
प्रेमको विषयमा अलग्गै सोच राख्ने विश्वप्रकाश पहिलेको तुलनामा अचेल प्रेमको तार पातलिएको बताउछन्। अहिलेका पूस्ताले प्रेमको गाम्भिर्यतालाई नबुझको उनको ठम्याइ छ। उनी भन्छन्, ‘कुनैपनि घर सम्झौताले चल्यो भने राम्रो हुँदैन। त्यो घर समझदारीले चल्नुपर्छ। प्रेम भन्ने कुरालाई मात्रा वा आकर्षणसँग दाँज्नु हुँदैन। प्रेमको गहिराइमा पुग्नुपर्छ जस्तो मलाई लाग्छ।’
विश्वप्रकाशको वैवाहिक जीवन पनि प्रेमबाट सुरु हुन्छ।
उमेर पुगेपछि आफन्तहरुको बिहेप्रति चासो बढ्नु स्वाभाविक मानिन्छ। यस्तै विश्वप्रकाशलाई पनि थुप्रै प्रस्ताव नआएका होइनन्। तर पञ्चायतकालिन व्यवस्थाविरुद्ध राजनीतिक संघर्ष उनको मूख्य चुनौती थियो। यसमा विश्वप्रकाशको एउटै मात्र चिन्ता थियो, ‘मलाई आफ्नो जीवनमा उपयोगी जिवनसाथीको खोजी थियो। राजनीतिक मान्छे भोली सत्तामा पुग्न पनि सकिन्छ, भोली सहिद हुन पनि सकिन्छ। हेरेकै भरमा केटी रोज्नु हुन्न भन्ने मेरो बुझाई थियो।’
जीवन उपयोगी साथी खोज्ने क्रममा उनको भेट अनेरास्ववियूका सक्रिय नेता केदार पोखरेलकी बहिनीसँग भयो। धुलावारीको स्वास्थ्य चौकीमा उनले पहिलोपटक देखेका थिए कविता शर्मालाई। उनले आफ्नो राजनीतिक विचार र आस्था विपरित संस्कृतीको पारिवारिक वातावरणमा हुर्किएकी कवितालाई मन पराएको स्पष्ट पारे। उनी आफ्नो प्रेम कथा सुनाउछन्, ‘हामी एउटै जिल्लावासी हो। उनको दाजु मेची क्याम्पस पढ्नुहुन्थ्यो। अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो।’
जब राजनीतिको कुरा आउँछ, त्यहाँ आस्थाको कुरा आउँछ। जब त्यहाँ प्रेमको कुरा आउँछ, त्यहाँ आस्था होइन, आत्मियताको कुरा महत्वपूर्ण हुन्छ। उनको यो सोचका कारण उनलाई कम्युनिष्ट दाजुकी बहिनी हुन् भन्ने कुराले कुनै फरक पारेन। उनले भने, ‘मैले उनलाई हेरेको हो। उनको दाजुले कुन पार्टीलाई भोट हाल्छन् भन्ने विषयसँग मेरो सरोकार थिएन।’
अनौठो प्रस्ताव शैली
एकै नजरमा माया बसेको पनि होइन अथवा ‘आइ लभ यू’ भनेर कुदी हिड्ने खालको पनि नभएको उनी बताउछन्। ‘शालिन ढंगले परिपक्व रुपले गृहस्थ जिवनलाई केन्द्रमा राखेर गरिएको प्रेम थियो। उनको र मेरो उमेरबीच झन्डै साढे नौ÷१० वर्षको अन्तर छ।’
त्यो समयमा न मोबाइल, न त सञ्चारको कुनै भरपर्दाे माध्यम। ‘प्रेम पत्र नै पो लेखिएन हौ। हाकाहाकी कुरा हुन्थ्यो,’ उनी भन्छन्, ‘जब उनलाई मैले आफुले मन पराएको कुरा भने र सिधै बिहेको प्रस्ताव गरे। मेरो प्रेम प्रस्ताव शैली कुनै ननस्टप गाडीको रफ्तार भन्दा कम थिएन।’ बिहे गरौं भनेपछि तुरुन्तै बिहे त गरिएन। झन्डै एक वर्षपछि बिहे गरेको उनले बताए।
प्रस्ताव गर्दै गर्दा उनलाई मैले व्यवहारिकताका साथ बुझाउने प्रयत्न गरेको उनले बताए। ‘सम्भवतः उनलाई पनि मसँग बिहे गर्नु उपयुक्त छ वा छैन भन्ने थियो। हामीले त्यत्तीकै जियेगें, मरेगें सनम्... भन्ने गीत गाए जसरी अठोट लिएका थिएनौं। संयमता पूर्वक गरिएको प्रेम र धैर्यतापूर्वक गरिएको विवाह थियो।’
सिनेमामा जस्तै विश्वप्रकाशको प्रस्ताव कविताले सजिलै एसेप्ट गरेकी थिइनन्। उनले पनि प्रस्ताव गर्ने बित्तिकै सजिलै ‘हुन्छ’ त नभनेको उनलाई सम्झना छ। तर उनको जवाफमा ग्रीन सिग्नल अवश्य थियो, ‘म सोचेर भन्छु’। सोचेर भन्छु भनेपनि कविताको उत्तर ‘हुन्छ’ नै आउछ भन्ने उनलाई विश्वास थियो। उनले ठट्यौली पारामा सुनाए, ‘त्यो हुन्छ नि अनुमान। तपाईहरुको उमेरले त अलि बढी नै बुझ्छ। ‘ना ना करते प्यार तुम्ही से कर बैठें...’ भन्ने गीतमा जस्तै उत्तरमा ‘हुन्छ’ भन्ने आउछ भन्ने थियो।’
सामान्यतया विवाहअघिका कुराहरु लुकाउछन्। तर उनले निर्धक्क आफ्ना अनूभुतीहरु यसरी सुनाए, ‘नढाटी भन्नुपर्दा क्याम्पस लाइफमा धेरै केटीहरुलाई मन पराइयो। धेरै पटक ‘यो केटी राम्री छे’ भन्ने चाहीँ लाग्थ्यो। तर त्यो कुरा कुनै परिपक्व उमेरको थिएन। मसँग सामिप्यता राख्नखोज्ने केटी साथी पनि थिए, मैले घनिष्टता राख्न खोजेको केटी साथी पनि थिए।’
राजनीतिक कार्यव्यस्तताका कारण डेटिङ जाने अवसर कहिले नजुरेको उनी बताउछन्। पार्टीगत कार्यक्रमका अवसर पारेरै कवितालाई भेट्ने गरेको उनले सुनाए।
सबैभन्दा मिठो कुरा
कुनैबेला रेष्टुरेन्टमा खान जाँदा पत्नी कवितालाई संसारमा सबैभन्दा मिठो कुरा के हो भनी सोधेको कुरा उनी सुनाउछन्। कविताले भोकको सुरमा ‘चाउमिन’ भनेकी थिइन्। उनले कवितालाई बुझाउदै भनेको कुरा सम्झछन्, ‘चाउमिन त कुनै पदार्थ हो। सबै भन्दा मिठो कुरा बोली वचन हो।’
पहिला क्याम्पसमा विद्यार्थी जिवनबाटै ‘कविता लेख्छ’ भन्ने छवि बनाएका थिए। तर केही समय राजनीतिक व्यस्तताले कविता लेख्न छोडेका थिए। विहेपछि कविताले उनका कविताहरु पढिन्। कविताले नै त्यस्ता कविताहरुलाई बाहिर ल्याउनुपर्छ भनेर प्रेरित गरेको उनले बताए। उनी भन्छन्, ‘अहिले नेपाल जेसिसको कुनै पनि कार्यक्रममा जानुभयो भने जोकोहीले यो गीतको रचनाकार विश्वप्रकाश हो भन्छन्।’
मेरो कविता, गीतमा कहिल्यै ‘महिलाको वर्णन’ हुदैन। प्रेमकै विषयमा लेख्दा पनि
‘हिमालको देशमा हिउँ जस्तै चोखो माया,
गुरासको लेकमा फूलजस्तै कोमल माया
दिई तिमीलाई धेरै धेरै माया गर्छु
आईपरे तर म देशका लागि मर्छु।
लेखेको छु।’
यसमा मैले कसैप्रति उनको वर्णन नगर्दै उनीप्रति माया व्यक्त गरेको छु, साथै यसमा देशप्रेम पनि छचल्किएको छ। गएको वर्ष काकरभिट्टा क्याम्पसमा प्रणय दिवसको अवसरमा कार्यक्रम थियो। उनले नेविसंघका कार्यकर्ताहरुलाई लभ लेटर प्रतियोगिता राख्न अनुरोध गरेपछि कार्यक्रम रमाइलो भएको बताए।
भ्यालेन्टाइन्स डेलाई तडकभडकका साथ नमनाउने गरेको उनी बताउछन्। उनी भन्छन्, ‘भ्यालेन्टाइन्स डेको दिन कुनै आधीहुरी आउनुपर्छ जस्तो लाग्दैन। यसमा हामी दुवैजनाको एउटै मत छ। तर भ्यालेन्टाइन्स डे मनाउनै हुँदैन, यो पश्चिमा सँस्कृती हो भनेर आलोचना गर्ने पक्षमा पनि हामी छैनौं। दुनियाँमा जुनसुकै राम्रो कुरालाई हामीले अवलम्बन गर्नुपर्छ।’
यौन र प्रेम
प्रेम र यौन फरक काँटामा राखेर बुझ्छन्, विश्वप्रकाश। उनका अनुसार हरेक यौन सम्बन्धपछाडी प्रेमको महत्वपूर्ण तत्व हुन्छ भन्ने छैन। तर प्रेम गृहस्थमा पुग्दैगर्दा अन्तसम्म यौनमा पुग्नसक्छ। उनी भन्छन्, ’प्रेमको अलगरुपमा शाब्दिक मात्र होइन, मनोवैज्ञानिक अर्थ पनि छ। प्रेम र यौन गासेर हेर्नुहुँदैन। प्रेम भएका सबैसँग यौनसम्बन्ध हुन्छ भन्ने पनि हुँदैन। प्रेमले बोक्ने दायरा ठुलो छ। प्रेम बुवा, आमा, साथी, छरछिमेक सबैसँग हुन्छ। तर प्रेम र यौन जोड्ने एउटा सम्बन्ध हुन्छ, जुन निश्चित व्यक्तिसँग हुन्छ।’
प्रेममा सफलता
उनको विचारमा प्रेमको सफलता र असफलता भन्ने कुरा सापेक्ष हुन्छ। सम्बन्धलाई गृहस्थसम्म पुर्याएर मात्रै सफल मान्न सकिदैन। प्रेम गर्नेहरुबीचको ‘केमेस्ट्री’ कत्तिको मिल्छ त्यो हेर्नुपर्छ।
तपाईले कसलाई मन पराउनुहुन्छ त्यो भन्दा तपाईले कसले बढी मन पराउछ त्यो हेर्नु जरुरी हुन्छ। ‘मैले कवितालाई त मन पराएको थिएँ। तर त्यससँगै मलाई सतर्कता के थियो भने, उनले मलाई कत्तिको मन पराउछिन्। प्रेमको सफलता एक पक्षमा हुँदैन, दुई पक्षमा हुँदैन। प्रेममा कहिल्यै सिद्धान्त बनाउनु हुँदैन।’
सबै भन्छन् उभोबाट आकाश छुनुपर्छ
म त भन्छु उदो बनेर सागर चुम्नुपर्छ
तर तिम्रो पाइलाहरु नरोकिने हुनुपर्छ
खोला जस्तै नदी जस्तै बगिरहनुपर्छ
कविताबाटै उनले कहिले नसकिने कुराको पछि लागेर केही काम नभएको बताउछन्। उनी भन्छन्, ‘एकतर्फी प्रेम पनि त्यस्तै हो। निरन्तर एकतर्फी प्रेमको पछि कुदेर जीवन फकिर बन्छ, जिन्दगी सोचेजस्तो हुँदैन।’
https://youtu.be/zb6q049HOgk
अन्नपूर्ण पोस्ट बाट साभार बाट साभार गरिएको










