काठमाडौं, फागुन ३
घुस लिएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त राजनारायण पाठकविरुद्ध सत्तारुढ दलले महाअभियोग लगाउने तयरी अघि बढाएको छ ।
पाठकविरुद्ध सत्तारुढ दलका सांसदहरूले महाअभियोग दर्ता गराउन हस्ताक्षर संकलन सुरू गरेका छन् । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो हेरेका सत्तारुढ दल नेकपाका शीर्ष नेता र सांसदहरुले महाअभियोग लगाउने तयारी गरेको हो ।
पाठकले राजीनामा दिए पनि उनीविरुद्ध महाभियोग लगाउने सत्तारुढ दलका एक नेताले बताए । उनका अनुसार महाअभियोग लगाउनका लागि हस्ताक्षर संकलन सुरु भइसकेको छ । ‘सत्यतथ्य सार्वजनिक भइसकेको छ,’ ती नेताले भने ‘अटेर गरे बाटो त्यही (महाभियोग) हो ।’
अख्तियारमा बसेर घुस खाएको घटना सार्वजनिक भएपछि पाठकमाथि महाअभियोगको तयारी अघि बढेको हो ।










