काठमाडौं । प्रधानमन्त्री बन्दा सुरुमा केपी शर्मा ओली असाध्यै लोकप्रिय थिए । केही महिनामै उनको लोकप्रियताको ग्राफ ओरालो लाग्न थाल्यो । र, एक वर्ष वितेसँगै ओली र उनको सरकारले ‘कमव्याक’ गरेको छ ।
लोकप्रियताका दृष्टिले ओली ओरालो लाग्न थालेका थिए । ओरालो लागेको बाघलाई मृगले पनि लखेट्छ भने झैं अवस्था आउन थालेको थियो ।
विगतमा नयाँ संविधान बनेसँगै जातिवादी तथा अतिवादी एजेण्डाहरु निस्तेज बन्दै गयो । जातिवाद र अतिवादको विकल्पमा घृणा–निन्दा–निरासा फैलाउने अभियान अगाडि ल्याइयो । घृणा–निन्दा–निरासा अभियानको तारो बनेका थिए ओली । ओलीसँगै ओली सरकार दिशाहिन हुन थालेको प्रतित हुन्थ्यो ।
ओली विरुद्ध पार्टीभित्रबाट केही मात्रामा र बाहिरबाट यथासम्भव घृणा–निन्दा अभियान चर्काइएको थियो । सरकारले केही पनि नगर्ने छाँट देखियो भन्ने प्रचार भइरहेको थियो । यसलाई चिर्न ओली सरकारले सकिरहेको थिएन ।
तर, अब पासा पल्टिएको छ । ओलीले ‘कमव्याक’ गरेका छन् । समग्र सरकारले गति पक्रन थालेको छ । एक वर्ष पुगेको अवसरमा सरकारले आत्मविश्वाशी ढंगले आफ्नो कामको फेहरिस्त प्रस्तुत गरेको छ ।
केही समय अघिसम्म प्रधानमन्त्री ओली आफैं पनि सुस्ताए झैं देखिन्थे तर एक वर्ष पुगेको अवसरमा प्रबल आत्मविश्वाशी सम्वोधन गरेका छन् । उनले जनतामा आशा जगाउन भरपूर प्रयत्न गरेका छन् ।
सम्वोधनमा एक वर्षको कामको फेहरिस्त पेश गर्दा ओली कति आत्मविश्वाशी र उत्साही देखिए भने उनले प्रतिपक्षीलाई प्रहार गर्न पनि बाँकी राखेनन् ।
प्रारम्भिक कालखण्डमा सुस्त देखिएको सरकार सामाजिक सुरक्षा कार्यक्रम ल्याएपछि तेज गतिमा अगाडि बढ्न थालेको देखिन्थ्यो । हुनत प्रधानमन्त्री ओलीले संघीयता व्यवस्थापन तथा प्राविधिक काममा ध्यान केन्द्रित गर्नुपरेको बताए । प्रत्यक्ष अनुभूति नहुने र नांगो आँखाले नदेखिने कामले जनता सन्तुष्ट हुँदैनन् ।
सामाजिक सुरक्षा भत्तापछि प्रधानमन्त्री रोजगार कार्यक्रम हुँदै पानी जहाज कार्यालय स्थापनासम्मले सरकारले गति पक्रेको सहजै देख्न सकिन्छ । त्यस बीचमा कतिपय मन्त्रालयहरुले निरन्तर जनउपयोगी कामहरुलाई अगाडि बढाएका थिए ।
घृणा–निन्दा–निरासाको प्रसारणले सरकारलाई अप्ठेरो अवस्थामा पुराइसकेको थियो । पछिल्लो कालमा डा. गोविन्द केसी अनसन प्रकरणलाई जनअसन्तुष्टि चरममा पुराउने अश्त्रका रुपमा प्रयोग गर्न खोजिएको थियो तर त्यसलाई निस्तेज पार्न सरकार सफल भयो ।
गति बढ्छ त ?
एक वर्ष पुग्दानपुग्दै सरकारले गति बढायो, आशा जगायो । सरकारको यो गति कायम रहन्छ त ? सम्वोधनमा प्रधानमन्त्री ओलीले आगामी दिनमा झन गति बढाइने, ‘डेलिभरी’ दिइने दावी गरे । तर, प्रधानमन्त्री ओलीका लागि आगामी दिन सजिलो भने छैन ।
नेता र सरकारको लोकप्रियता र अलोकप्रियताको ग्राफ ससाना घटना र प्रायोजित प्रचारले निर्धारण गरिदिन सक्छ । सरकार विरुद्ध अरुले प्रचार गरिदिए पुग्छ तर सरकारले चाहिँ काम नै देखाउनुपर्ने हुन्छ । यो तथ्यलाई ओलीले कति आत्मसात गर्छन् भन्ने आगामी दिनमा देखिने नै छ ।
सरकारको काम देखिन थाल्यो त्यसैले सरकारको लोकप्रियताको ग्राफ फेरि उकालो लाग्यो । काम देखिन थालेपछि र वाहवाही पाउन थालेपछि सरकारको मनोबल बढ्नु स्वाभाविक हो । तर, यसको साइड इफेक्ट पनि छ । अब सरकार विरुद्ध प्रहार झन कडा हुनसक्छ । प्रतिपक्षी कांग्रेसले सरकारको विरोध गर्नु स्वाभाविक हो तर सरकारको विरोधको आडमा घृणा–निन्दा–निरासा फैलाउने अभियानले पनि गति लिनसक्छ ।










