जनकपुरधाम- भारतको गोवामा मस्ती गर्ने उद्देश्यले आफ्नै अपहरणको नाटक गरेर आमाबुबासँग फिरौतीको रकम माग्ने प्रहरीको फन्दामा परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ बेलौनीका राजकुमार शाह तथा रेखाकुमारी शाहकी १७ वर्षीय छोरा अजय कुमार शाहले नक्कली अपहरणको षड्यन्त्र गरेर आमाबुबासँग १५ लाख रुपैयाँ फिरौती मागेको घटनामा धनुषा प्रहरीले अजयसहित तीन जनालाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले शुक्रवार पत्रकार सम्मलेन गरेर घटनाबारे जानकारी गराएका छन् । ‘भारतको गोवा घुम्न जाने, मोजमस्ती गर्ने इच्छा भएको र त्यसका लागि आमाबाबुले पैसा नदिएपछि उनले आफैं अपहरित भएको षड्यन्त्र गरे,’ एसपी खनालले भने, ‘उनले काठमाडौं गएर आफ्ना साथीमार्फत आमालाई फोन गर्न लगाएर फिरौती माग्न लगाए ।’ गत माघ १५ गते बिहानै करीब १० बजेतिर साथीको 'बर्थ डे' पार्टी मनाउन जान्छु भनेर अजय घरबाट निस्केका थिए । त्यस दिनदेखि उनी घर फर्केनन् । यसअघि पनि अरू कसैको घर जाँदा उनी दुई तीन दिनसम्म नफर्कने बानी भएकाले परिवारका सदस्यले खासै चिन्ता लिएका थिएनन् । तर एक्कासी अपरिचित नम्बरबाट आएको फोनमार्फत छोरा अपरहणमा परेको र १५ लाख रुपैयाँ फिरौती मागिएपछि आमा रेखाले प्रहरीमा माघ २६ गते जाहेरी दर्ता गराएकी थिइन् ।

त्यसपछि घटनाको छानबिन जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष प्रहरी परिचालन गरेर घटनाको छानबिन गर्दै गयो । प्रहरीले उता आमालाई फिरौती रकम माग्नेसँग फोनमै बार्गिनङ गर्न लगाइरहे । १५ लाखको फिरौती ५ लाख रुपैयाँ दिनेमा टुंगियो । त्यसपछि माघ २८ गते फिरौतीको रकम लिन आएका जनकपुर उपमहानगरपालिका वडा नम्बर २३ बस्ने २० वर्षीय समसाद नदाफलाई प्रहरीले रंगे हात पक्राउ गर्न सफल भयो ।

‘त्यसपछि नदाफसँगको बयानको आधारमा फिरौती मागिरहेका अर्का व्यक्ति रौतहट गढ़ीमाई नगरपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीय अरबिंद यादवलाई पनि पक्राउ गर्न सफल भयौं,’ एसपी खनालले भने, ‘दुवै जनासँग बयान लिँदा अजय आफैंले नक्कली अपहरणको षड्यन्त्र रचेको घटना खुलासा भयो ।’ अहिले तीनै जनालाई पक्राउ गरेर सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढ़ाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना विगतमा काठमाडौं बस्दै आएका र कुलतमा फस्दै आएका व्यक्ति हुन् ।

लोकान्तर बाट साभार