नेपाल विद्यार्थी संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरुले दबाब दिन थालेका छन्। उनीहरुले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई भेटरै दबाब दिएका हुन्।

नेविसंघका निवर्तमान महिला नेतृहरुको नेतृत्वमा गएको छात्राहरुको एक समूहले पार्टी सभापति देउवालाई शनिबार भेटेका छन्। देउवा निवास पुगेका महिला नेतृहरुले महिलालाई भावी नेतृत्व दिनुपर्ने आधार र कारण पेश गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य मिरा कटवाल, पूजा उपाध्याय, गिता गुरुङको नेतृत्वमा गएको महिला नेतृहरुको समूहले सभापति देउवासँग भेटेर भावी अध्यक्ष महिलाले पाउनु पर्ने माग राखेका थिए।

महिला नेतृहरुले सभापति देउवाकै पहलमा विधान र उमेर हद लागू भएको र केही नयाँ योजना ल्याएको भन्दै उनको प्रशंसा गरेका थिए। नेतृत्व पनि महिलालाई दिएर नयाँ इतिहास बनाउन माग गरेको केन्द्रीय सदस्य गुरुङले जानकारी दिइन्।

नेविसंघको अब गठन हुने तदर्थ समिति निवर्तमान सहमहामन्त्री अम्बिका चलाउनको अध्यक्षतामा गठन गर्नुपर्ने माग समेत गरेका थिए। नेविसंघका महिला नेतृहरु एकमतका साथ चलाउनेलाई अध्यक्ष बनाउने पर्ने भन्दै पार्टी नेताहरुलाई दबाब दिन थालेका छन्।

नेविसंघको इतिहासमा पहिलो पटक उमेर हद लागु हुने भएपछि नयाँ पुस्ता खुशी भएको छ। उनीहरुले उमेर हद हटाउने चलखेल भएको भन्दै पार्टी सभापतिलाई सचेत समेत गराएका थिए।

भेटमा सभापति देउवाले नेतृत्व महिलालाई दिन आफू सकारात्मक रहेको बताउँदै फागुन ९ गते बस्ने बैठकबाट निर्णय गर्ने जवाफ दिएको भेटपछि निवर्तमान केन्द्रीय सदस्य उपाध्यायले जानकारी दिइन्।