राजविराज । साईकल चढेर बजारतर्फ हिँडेकी एक बालिकाको ट्रयाक्टरले किचिएर ज्यान गएको छ ।
राजविराज नगरपालिका १ निवासी ११ बर्षीया अंजली गिरीको ट्रयाक्टरले किचिएर ज्यान गएको हो । उनको उपचारको क्रममा शनिबार बिहान बिराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार काम विशेषले शुक्रबार साँझ घरबाट साईकल चढेर निस्केकी गिरीलाई घर नजिकैको पडरिया सडकखण्डको पुलमा तिब्रगतिमा आउँदै गरेको स. १ त ५५३९ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।
ठक्कर पछी गम्भीर घाईते भएकी उनलाई तत्कालै स्थानिय गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पुर्याइएको थियो । अवस्था अत्यन्तै नाजुक रहेकाले प्रारम्भिक उपचार लगतै एम्बुलेन्सको व्यवस्था गरी उनलाई थप उपचारका लागी विराटनगरस्थित गोल्डेन अस्पताल पठाईएको अस्पताल प्रहरी विटका हवलदार रामशंकर यादवले बताए ।
उपचारकै क्रममा उनको मृत्यु भएको बताईएको छ । स्थानीय बासीले भने ट्रयाक्टरले ठक्कर दिएपछि घाईते भएकी बालिकालाई चालकले गाडी ब्याक गरी किचेर मारेको दावी गरेका छन् ।
अधिकांश प्रत्यक्षदर्शीले भने ठक्करबाट बालिका गिरी घाईते भएका थिईन तर चालकले गाडी ब्याक गरेर किचेको बताए ।
ठक्कर दिने ट्रयाक्टर र सोही वडा निवासी चालक शुशिल यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।










