काठमाडौं, ९ फानुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एकैदिन तीन पटक मन्त्रिपरिषद बैठक बसाएर नयाँ रेकर्ड कायम गरेका छन् ।

यसअघि दिनमा एकपटक वा दुईपटक मात्रै बस्ने गरेको मन्त्रिपरिषद बैठक सोमबार (आज) तीन–तीन पटकसम्म बस्यो । निर्वाचनको मिति घोषणा गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड दोधारमा परेपछि क्याविनेट तीन पटक बसेको एक मन्त्रीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘उताबाट मधेसी मोर्चाको धम्की, यता सत्ता गठबन्धन कांग्रेस–माओवादीबीच आजै चुनाव घोषणा गर्ने सहमति, प्रधानमन्त्री दोहोरो दबाबमा पर्नुभयो,’ ती मन्त्रीले भने– ‘विहान बसेको पहिलो बैठकलाई प्रधानमन्त्रीले मधेसी मोर्चाको चित्त बुझाउन फागुन १० गतेदेखि चल्ने संसदमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेर टारे । दोस्रो बैठकमा राजदूत सिफारिस र सचिव सरुवा गर्ने निर्णय गरे । र, चौतर्फी दबाबपछि अन्तिममा तेस्रो बैठकमार्फत निर्वाचनको मिति घोषणा गर्न बाध्य भए ।’

ती मन्त्रीका अनुसार दोधारमा रहेका प्रधानमन्त्रीलाई कांग्रेसले केही हुन्न निर्वाचन घोषणा गर भनेपछि र माओवादी केन्द्रकै अधिकांश नेताले चुनाव घोषणा गर्न खुट्टा नकमानुस् भनेर दबाब दिएपछि निर्वाचन आयोगसँग परामर्श गरी राति मन्त्रिपरिषदको तेस्रो बैठक राखेर वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव पास गराए ।