लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत 'लुट्न सके लुट कान्छा' बोलको गीत आफ्नो यूट्यूब च्यानलबाट हटाएको विषयमा कांग्रेसले सरकारको आलोचना गरेको छ।

आइतबार कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पशुपति शर्माको गीतका विषयमा व्यङ्ग गर्दै भने, ‘कति बलियो होला दुई तिहाईको सरकार एउटा गीतले पनि थरर्र काप्ने?’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकार गम्भीर नरहेको भन्दै उनले भने, ‘सरकार आफैंले कही हस्तक्षेप गरेर यूट्यूबबाट हटायो या सरकार आफैंले गीत हटाउनलाई चेतावनीको विज्ञप्ति दियो। मेरो आसय आरोप बिल्कुल होइन। तर, मुलुकमा जे प्रकारको वातावरण थियो। एउटा गायकले त्यो गीतलाई प्रस्तुत गर्दै गर्दा आलोचित या प्रशंसीत हुन पाउने उसको नैसर्गिक अधिकारको रक्षा राज्यले गर्न सकेन।’

कांग्रेस नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन्। उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ। सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ।’

https://youtu.be/YhPcS7hXC1Q