जाडो छल्न तराई जाने गरेपनि पत्नी कोमल शाहको जन्मदिन काठमाडौँ आइपुग्ने पूर्वराजा ज्ञानेन्द्र झापामै रहेका छन्।

प्रजातन्त्र दिवस (७ फागुन) कै दिन पर्ने पत्नी कोमलको जन्मदिन मनाउन उनी यसअघि ६ फागुनसम्म काठमाडौँ आइपूग्ने गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्ला बर्षहरुमा झैँ यस पटक पनि कोमलको जन्मदिवस मनाउन पूर्व राजा र कोमल काठमाडौँ आउने कार्यक्रम थियो।

तर, भोलि (७ फागुन) नै पूर्वराजा ज्ञानेन्द्रका पिता स्व राजा महेन्द्रको श्राद्ध तिथि परेपछि उनी काठमाडौँ आउन रोकिए।

२४ माघमा झापा पुगेका पूर्वराजा शाह दमकस्थित आफ्नो स्वामित्वको हिमालयन टि गार्डेनमा पत्नी कोमलसँगै छन्।

‘भोलि दमकस्थित टि गार्डेनमै स्व राजा महेन्द्रको श्राद्धको कार्यक्रम राखिएको छ’ निर्मल निवास स्रोतले भन्यो, ‘त्यही कारण निर्मल निवासमा कोमलको जन्मदिनको कार्यक्रम राखिएको छैन।’

राजा महन्द्रको २८ माघ २०२८ मा भरतको दियालो बंगलामा निधन भएको थियो। २८ माघमा निधन भएपनि यस बर्ष श्राद्धको तिथि भोलि परेको हो।

स्रोतका अनुसार, महेन्द्रको श्राद्धको तिथि भोलि परेकाले कोमलको जन्मदिन पूर्व राजपरिवारले हिजै (५ फागुन) दमकमा मनाएको छ।

‘स्व महेन्द्रको श्राद्ध तिथिमा जन्मदिन परेपनि तिथिका हिसावले उहाँ (कोमल) को जन्मदिन हिजो परेको रहेछ’ स्रोतले भन्यो, ‘त्यसैले, सीमित शुभेच्छुकहरुका बीच हिजै उहाँको ६७ औँ जन्मदिन मनाइयो।’

राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना गरिएकै दिन ७ फागुन २००७ मा कोमलको जन्म भएको थियो।

संयोगपनि कस्तो भने, गद्दीमा रहेका नावालक राजा ज्ञानेन्द्र शाह कोमल गद्दीच्युत भएकै दिन कोमल जन्मेकी थिइन्।

राणा शासनपनि असहमति जनाउँदै २००७ कार्तिकमा शरणका लागि नयाँदिल्ली गएपछि तत्कालिन प्रधानमन्त्री मोहन शमशेरले काठमाडौँमा रहेका बालक ज्ञानेन्द्रलाई राजा घोषित गरेका थिए।

तर, ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न सकेनन्। भारतले पनि क्रान्तिलाई समर्थन गरेपछि राणा शासन ढल्यो। सँगसँगै मोहन शमशेरद्वारा राजा घोषणा गरिएका ज्ञानेन्द्रपनि गद्दीबाट हटाइए।

नावालक छँदै राजा बनेका ज्ञानेन्द्र शाह ‘गद्दीच्युत’ भएकै दिन जन्मेकी कोमलको पछि ज्ञानेन्द्रसँगै विवाह हुन पुग्यो।

नेपाल खबर बाट साभार