काठमाडौं– गायक प्रमोद खरेलले पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतमाथि संसदमा भएको राजनीति मन नपरेको बताएका छन् ।
सोमवारको प्रतिनिधिसभाको बैठकमा उनको गीतमाथि सांसदहरू पक्ष र विपक्षमा देखिए ।
नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले पशुपति शर्माले जनताको गीत गाएको भन्दै उनलाई आफ्नो तलबबाट २५ हजार पुरस्कार दिने घोषणा गरे । त्यस लगत्तै सत्तापक्षका सांसद झपट रावलले प्रत्युत्तरमा यो गीत अमरेशले नै गाएमा एक महिनाको पारिश्रमिक दिने घोषणा गरे । संसदमा यस्तो दृश्य सायदै देख्न पाइन्छ ।
गीतमाथिको राजनीतिबारे प्रमोद खरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पशुपति शर्मालाई २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध– त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस् , जनताका लागि काम गर्नुस् ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस् । कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुस् ।’




