काठमाडौं । सोमबार चलेको प्रतिनिधि सभा बैठकमा 'लुट्न सके लुट कान्छा...' गीतले सत्ता र प्रतिपक्षी सांसदबीच जुहारी मच्चायो। गायक पशुपति शर्माको गीतले खडा गरेको हङ्गामा संसदमा पनि उत्रियो। सत्ता र प्रतिपक्षी सांसदबीच गीतको पक्ष र विपक्षमा जुहारी चल्यो।
बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले जनबोलीलाई गीतमा उतारेर गाउने कलाकार भन्दै शर्मालाई आफ्नो एक महिनाको तलव दिने घोषणा सुनाए। प्रतिपक्षी सांसदको त्यो झटारो सत्ता पक्षका सांसदलाई चित्त परेन। नेकपाका सांसद झपट रावलले कांग्रेस सांसद अमरेशलाई लुट्न सके लुट गीत संसदमै गाउनुस् म तपाईंलाई मेरो तलब दिन्छु भनिदिए।
संसदको यो जुहारी हेरेपछि गायक प्रमोद खरेललाई ठिक लागेन र उनले प्रतिपक्षी र सत्ताधारी सांसदलाई गीतमाथि राजनीति नगर्न आग्रह गर्दै सामाजिक सञ्जाल ट्विटरमा आफ्नो अभिमत राखे।
गायक खरेलले ट्वीट गर्दै लेखेका छन्- ‘पशुपति शर्मालाई २५ हजार दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध, त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस्, जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस् । त्यसैले कर्म गर्नुस्, गीत माथि राजनिती नगर्नुस्।’
https://youtu.be/oZ2UhX5scQA










