काठमाण्डु, ८ फागुन – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारी हुनेगरी मालाले स्वागत गर्नु गलत भएको टिप्पणी गरेका छन् ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई बारामा १५१ किलोको मालाले स्वागत गरेको समाचार शेयर गर्दै शर्माले यस्तो टिप्पणी गरेका हुन् । एक फूल र एक मुस्कानले स्वागत गर्न सुझाव दिँदै उनले आलोचनामा गालीको भारी र सम्मानमा फलको भारी दुवै गलत भएको उल्लेख गरेका छन् ।
‘केवल एक फूल दिनोस् या केवल एक मुस्कानसाथ हृदयले स्वागत गर्नोस्’, शर्माले ट्विटरमा लेखेका छन्, ‘आलोचनामा गालीको भारी या सम्मानमा फुलको भारी दुवै गलत छन् ।’
उनले जिल्लामा जोसुकै नेता आए पनि मालाको भारी हुने गरी स्वागत नगर्न आग्रह समेत गरेका छन् । ‘देउवा, पौडेल, कोइराला, प्रचण्ड, ओली वा जिल्लामा आउने अरु जो कोही अगुवा हुन्’, उनले थप लेखेका छन् ।
बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको थियो ।
दियालो होटलको उद्घाटन गर्न वीरगन्ज जाने क्रममा देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले एक सय ५१ किलोको मालाले स्वागत गरेको हो ।










