काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी ओलीले लगानी सम्मेलनसम्म मन्त्रिपरिषद् पुनर्गठन नगर्ने भएका छन् । सम्मेलनअघि मन्त्रिपरिषद् पुनर्गठन गर्दा विश्व समुदायमा गलत सन्देश जाने भन्दै त्यसपछि मात्र मन्त्रीहरू फेरबदल गर्ने तयारी गरेको बुझिएको छ ।
बुधबार सुदूरपश्चिम प्रदेशमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमका दौरान प्रधानमन्त्री ओली, नेकपा द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक सहमति भएको बताइएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्दा क–कसलाई बिदा दिने र क–कसलाई ल्याउने भन्ने अन्तिम सहमति भने अलि पछि हुने भएको छ ।
स्रोतका अनुसार पूर्वमाओवादी पक्ष अर्थमन्त्री डा.युवराज खतिवडालाई हटाउनुपर्ने अडानमा रहेको छ । उनको ठाउँमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ल्याउने कि भन्ने विषयमा छलफल सुरु भएको छ ।
ओली अहिले पनि खतविडाकै पक्षमा रहेका छन् । तर, वैदेशिक आर्थिक सहायता ल्याउन नसकेको आरोप उनलाई लगाइएको छ । सोही कारण आगामी लगानी सम्मेलनमा ठूलै लगानी ल्याउन भन्दै उनी अहिले बेलायत पुगेका छन् ।
प्रधानमन्त्री ओली अहिले सबैभन्दा बढी पर्यटनमन्त्री रवीन्द्र अधिकारी, गृहमन्त्री रामबहादुर थापा तथा लालबाबु पण्डितका कारण समस्यामा परेका छन् । सञ्चारमन्त्री गोकुल बास्कोटा र श्रममन्त्रीको भने पोर्टफोलियो नै परिवर्तन गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुगेको बताइएको छ । स्रोतका अनुसार दुवैलाई आ–आफ्नो अहिलेको जिम्मेवारीबाट हटाएर अर्कै मन्त्रालयमा विस्थापन गर्ने सोचमा प्रधानमन्त्री छन् ।
स्रोतका अनुसार यसपटक मन्त्रीबाट बिदा हुने लाइनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिकामन्त्री थममाया थापा, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, खानेपानी मन्त्री बिना मगर र उद्योगमन्त्री मातृका यादव छन् ।
नयाँ मन्त्री बन्ने रोलक्रममा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेललगायत छन् ।
-मिडिया एनपी बाट साभार









