काठमाण्डु, १० फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले अर्बौँको कारोबार गर्ने सामाजिक सञ्जाललाई नेपालमा दर्ता गरिनु जरुरी रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सूचना तथा प्रविधिसम्बन्धी विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै सांसद भट्टराईले सूचना सञ्चारमाध्यम सेवा मात्रै भएनन् उद्योग पनि भइसकेकाले दर्ता अनिवार्य भएको उल्लेख गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सामाजिक सञ्जालको नियमन जरुरी छ, फेसबुकले मात्रै विज्ञापनका नाममा नेपाल वार्षिक १३ अर्ब भन्दा धेरै कारोबार गरिरहेको छ’, उनले भने, ‘त्यसैले सामाजिक सञ्जालको दर्ता महत्वपूर्ण छ । तर यसो गर्दा मौलिक हक, सञ्चारको हक र सूचनाको हकको संरक्षण जरुरी छ ।’

विधेयकका सूचनाको अदालत, सूचना केन्द्र, सामाजिक सञ्जाल व्यवस्थापन आदि राम्रा कुरा उल्लेखित भएको बताउँदै डाटाको सुरक्षा पनि गम्भीर विषय भएको उल्लेख गरे ।

‘नेपाल सामरिक हिसाबले महत्वपूर्ण स्थानमा छ, त्यसैले पनि डाटाको सुरक्षा जरुरी छ’, उनले भने, ‘अभिव्यक्ति, विचारको र प्रेस स्वतन्त्रतासहितका अकुण्ठित अधिकारहरुलाई विधेयकले सुरक्षित गर्नुपर्छ ।’

सांसद भट्टराईले हरेक मान्छेको फेसबुक, ट्वीटर एकाउन्ट दर्ता गर्ने नभइ फेसबुक र ट्वीटरका सञ्चालक कम्पनी नेपालमा दर्ता गर्ने कुरा विधेयकमा भएकाले यसबाट कसैले भ्रम पाल्न नहुने पनि स्पष्टिकरण दिए । काठमान्डू टुडे बाट