कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको बारको गेटको ताला तोडेर भित्र गई टावरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

“आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ”, उनले भने, “एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको हो ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेकाले कारवाही गर्नु परेको लेखेको पर्चा प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ ।

रासस