काठमाण्डु, १२ फागुन– शनिबार काठमाण्डुमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर थापा ‘बादलले राजीनामा दिँदैछन् ।

एककान, दुईकान मैदान हुँदै सो हल्ला गृहमन्त्री थापाको कानमा समेत पुग्यो । ललितपुरको एनसेल टावरमा भएको बम विस्फोटन र पार्टी एकीकरणका लागि गठति बादल नेतृत्वमा गठित कार्यदल विघटन भएको पृष्ठभूमिमा बादलको राजीनामाको हल्ला फैलिएकाले धेरैले सही हुन सक्ने लख काटे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाका नेता, कार्यकर्ता र सञ्चारकर्मीले बादल र उनका निकटस्थहरुलाई टेलिफोन गरी राजीनामाको हल्लाबारे एकिन हुन चाहे । एकातिर आगामी फागुनको २०/२१ गतेतिर मन्त्रिपरिषदमा हेरफेरको चर्चा चलिरहेका बेला गृहमन्त्रीको राजीनामाले बजार तात्यो । तर, राजीनामाको हल्ला सही थिएन ।

स्वकीयसचिव समेत रहेका बादलपुत्र प्रतीकले राजीनामाको कुनै सम्भावना नरहेको बताए । ‘राजीनामाको सम्भावना छैन’, उनले भने, ‘गलत हल्ला चलाइएको होला ।’ यद्यपि स्रोतका अनुसार बादलको नाम प्रधानमन्त्री ओलीले हटाउन चाहेका मन्त्रीको सूचीमा छ ।