काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानमा जुटेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ यो रंगशाला निर्माण भएपछि समग्र नेपाली खेलको बृहत् विकास हुने बताएका छन्।रंगशालाको मोडालिटीबारे राजधानीसँग कुरा गर्दै कट्टेलले भने, ‘यो विकासको परियोजना भए पनि सामाजिक मोडालिटीमा बन्छ। निर्माणपछि व्यावसायिक प्रायोजनको काम गर्दैन, खेलाडीको वृत्ति विकासमा केन्द्रित हुन्छ ।’२०७२ सालमा आएको विनाशकारी भूकम्पपछि परोपकारी कर्ममा जुटेका कलाकार कट्टेल र उनकी श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’ले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने सो रंगशाला आमखेलाडीका लागि एउटा एकेडमी हुने प्रस्ट पारे ।

रंगशाला निर्माण गर्नुअघि फाउन्डेसनले नेपाली खेलाडीबारे अनुसन्धान गरेको थियो । ‘नेपाली खेलाडीबारे अनुसन्धान गरेपछि नेपाली खेल र खेलाडीलाई विश्व जगत्मा चिनाउन एउटा एकेडेमीको आवश्यकता महसुस ग-यौं र निर्माण योजना बनायौं,’ कट्टेलले भने ।उनका अनुसार रंगशाला निर्माण भएपछि मुलुकभरका प्रतिभाशाली खेलाडी छनोट गरेर एकेडेमीमा ल्याइनेछ । त्यही एकेडेमीभित्र रुचिअनुसारको खेल अभ्यास गर्नेछन् र विभिन्न प्रतिस्पर्धामा सहभागी हुनेछन् ।कट्टेललाई लाग्छ, ‘एकेडमी बनेपछि कुनै पनि खेलाडीले मेरो वृत्ति विकास भएन भनेर चिन्ता गर्नुपर्ने छैन । निर्धक्क सिक्नेछन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर उपाधि जित्नेछन्, विश्व जगत्मा राष्ट्रलाई चिनाउनेछन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्रिकेट रंगशाला भनिए पनि एकेडेमीभित्र खेलसँग सम्बन्धित धेरै संरचना निर्माण हुने उनको भनाइ छ । सिन्धुपाल्चोकको गिरान्चौर, महोत्तरीको मुसहर बस्ती, रौतहटको सन्तपुरलगायतमा नमुना बस्ती बनाएका कट्टेल भन्छन्, ‘ती बस्ती निर्माणले निश्चित वर्गलाई खुसी बनाएको थियो । क्रिकेट एकेडमीले सिंगो देशलाई खुसी बनाउँछ । विकासलाई महत्व दिन्छ ।’एकेडेमीको बजेट ३ अर्ब रहेको छ । लगानी कसरी जुट्छ भन्ने प्रश्नको सहज जवाफ दिँदै कट्टेल भन्छन्, ‘एक जना नागरिकले एक सय रुपैयाँ दिए पनि ३ अर्ब जुट्छ भनेर हामीले सुरु गरेका हौं ।’ त्यसो त देशविदेशमा बस्नेहरूले धेरै चासो दिएकाले पनि समयअगावै निर्माण हुन्छ भन्नेमा उनी आशावादी छन् ।

सबैलाई समान अपनत्व गराउने अभियानअनुसार क्रिकेट रंगशाला बनाउने अभियानमा जुटेका कट्टेल भन्छन्, ‘यो रंगशाला राष्ट्रको प्रतिष्ठा पनि हो । त्यसकारण, आफूले गर्ने विविध खर्चमध्ये थोरै प्रतिशत दिनुभयो भने निर्माणमा सहज हुन्छ ।’रंगशालाभित्र विभिन्न संरचना निर्माण हुनेछ । राजधानी दैनिकमा खबर छ । खेलाडीका लागि होस्टेल, प्रशिक्षण कक्ष र विभिन्न खेल मैदान त्यहीँभित्र निर्माण हुने जानकारी दिँदै कट्टेल भन्छन्, ‘यसको सञ्चालनपछि यसबाट हुने आम्दानी खेल र खेलाडीका लागि खर्च गरिन्छ । त्यसपछि पनि बाँकी रह्यो भने अन्य सामाजिक काममा खर्च गर्न सकिन्छ ।’

धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा निर्माण हुने सो रंगशालाको अहिले गुरुयोजना बन्दै छ । नेपालमा यस किसिमको आयोजना अहिलेसम्म नबनेकाले प्राविधिकको अभाव महसुस गरेका कट्टेलले आफूसँग जोडिएका मान्छेलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् । ‘६ महिनाभित्रमा गुरु योजना र डिजाइनको काम सक्ने भनेका छौं र ६ महिनाअगाडि नै सक्ने अभियानमा छौं,’ उनले भने ।उनको भनाइमा जनस्तरबाट बनेको यो पहिलो मौलिक रंगशाला हुनेछ । जहाँ पूरै नेपाली कलाकौशल झल्किएको हुनेछ । साइट अफिस निर्माणको क्रममा रहेको छ भने अब केही दिनमा जस्ताले घेरेर कम्पाउन्डिङ गर्ने र गोदाम घर बनाउने काम हुनेछ । राजधानी दैनिक