काठमाण्डु, १४ फागुन – पोखरामा १७ वर्षीय युवकले सहसचिवस्तरको पदमा भएको भन्दै प्रहरीलाई नै उल्लु बनाएका छ्न । किशोरले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ बनेर प्रहरी र जनप्रतिनिधिलाई नै उल्लु बनाएका हुन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाण्डुको कार्ड भिरेर झापाका सन्देश रम्तेलले प्रहरी र जनप्रतिनिधिलाई गुमराहमा पारेका हुन् ।
रम्तेलले प्रहरीको स्कर्टिकङसमेत लिएर सरकारी नम्बरप्लेटको गाडीमा तनहुँदेखि मुस्ताङसम्म यात्रा गरेको बयान दिएका छन् ।
सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा सरकारी सुविधा उपभोग गर्दै आएका थिए ।
१०० नम्बरमा फोन हानेर हानेर स्कर्टिङको सुविधा लिने गरेको उनले दाबी गरेका छन् । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।
उनले वीरगञ्जमै नक्कली कार्ड बनाएको बताएका छन् । तेन्जिङ हिलारी होटलमा सामान राखेर रम्तेल सरकारी नम्बर प्लेटको गाडी गुडाउँदै पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पुगेका थिए ।
साथै, रम्तेलले पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भन्दै झुक्याएका थिए । उनले उपमेयर गुरुङलाई भेटेर महानगरपालिकाबाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन् ।
उनले होटलमा पनि पैसा तिर्न मानेनन् । राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयले होटलले दिएको खातामा पैसा हालिसकेको बताउँदै रम्तेल उम्कन खोजेका थिए । त्यसपछि उनले थाहा नपाउने गरी होटल मालिकले प्रहरीलाई खबर गरेका थिए ।










