टीका बन्धन, काठमाडौं । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई देशबीच तनाव भएपछि नेपालको भूमी प्रयोग गरी कुनै अबाञ्छित गतिविधि नहोस् विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) देवबहादुर बोगटीले जानकारी दिनुभयो । ‘नेपाल हुँदै भारत र ओहोर–दोहोर गर्ने विमान र यात्रु माथि निगरानी बढाइएको छ, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको छ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

साथै नेपाल हुँदै खाडी मुलुक जाने–आउने विमानका यात्रु र यात्रुका ‘लगेज’ माथि पनि निगरानी बढाइएको बताउँदै एसएसपी बोगटीले भन्नुभयो–‘ कुनै अबाञ्छित व्यक्ति र समुहको घुसपैठको संभावना हुन नदिन सुरक्षा निकाय ‘अलर्ट’ बनेको छ ।’ यसका लागि प्रहरीसँग उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको उहाँले बताउनुभयो ।

भारतले मंगलबार बिहान सबेरै लडाकु विमान मार्फत पाकिस्तान नियन्त्रित कास्मिरको बालाकोट क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै मुलुकले सुरक्षा रणनीति बढाएका छन् । शक्तिशाली विस्फोटमा ३ सय भन्दा बढी आतंककारी मारिएको भारतीय पक्षको दावी छ भने भारतीय आक्रमणको पुष्टी गरेको पाकिस्तानले पनि मानवीय क्षति नभएको दावी गरेको छ ।

भारतीय विदेश सचिव विजय गोलखेले गत फेबु्रअरी १४ मा कास्मिरको पुलवामा भएको आत्मघाती हमला भएजस्तै घटना फेरी दोहोरिन सक्ने पूर्व सूचनाका आधारमा मंगलबारको हमला गरेको बताउनु भएको छ । बालाकोटमा भारतीय दावी अनुसार मानवीय क्षती नभएको भन्दै पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेशीले खण्डन गर्नु भएको छ ।

भारत–पाकिस्तानवीच केही दिन अघिदेखि नै खटपटी सुरु भएपछि सुरक्षा निकायले काठमाडौं सहित अन्यत्र निगरानी बढाउन थालेको प्रहरीका उच्च अधिकारी बताउँछन् ।

सोमबारदेखि भारतीय, पाकिस्तानी र बंगाली नागरिक माथि निगरानी राख्दै शंकास्पदलाई सोधपुछ गर्ने क्रम शुरु भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । ‘सोमबार केही शंकास्पद व्यक्ति पक्राउ परेका छन्, मंगलबारदेखि झनै सुरक्षा सर्तकता बढाइएको छ, उहाँले भन्नुभयो–‘काठमाडौं बाहिरका सीमावर्ती क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

तर सरकारले भने यस बारेमा मंगलबार अबेर सम्म आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

यसै वीच राष्ट्रिय जनता पार्टी (राजपा) निकटका विद्यार्थी र युवा समुहले भारतले पाकिस्तान विरुद्ध गरेको हमलाको समर्थन गर्दै प्रर्दशन गरेका छन् ।

आतंकवाद विरुद्ध एक होऔ भन्ने आशयका साथ मंगलबार दिउँसो विरगञ्जमा विरोध प्रर्दशन भएको हो । विरगञ्जस्थित भारतीय वाणिज्य दूतावास आसपासबाट मोटरसाइल ¥याली सहितको प्रर्दशनमा राजपा महासचिव राजेशमान सिंह लगायत पार्टीका अन्य नेता सहभागी थिए । सोमबार पनि काठमाडौंस्थित पाकिस्तानी दूतावास परिसर अगाडी प्रर्दशन भएको थियो ।Source-http://www.newsofnepal.com/2019/02/27/186803/