काठमाडौं– क्याप्टेन प्रभाकर केसीले खराब मौसम हुँदाहुँदै दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि अर्को हुने धेरै कमजोरीबाट दुर्घटना हुन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने ।

‘दुर्घटना हुनुअघि मौसम खराब थियो भन्ने त थाहा भएकै विषय भयो । त्यसमा पनि पर्यटनमन्त्री, हेलिकप्टर मालिक, उड्डयन प्राधिकरणका पदाधिकारी रहेको उडानमा जोखिम हुँदाहुँदै पनि पाइलटले भन्न नसकेका हुन सक्छन् । मन्त्री र हेलिकप्टर मालिक हुँदाहुँदै जोखिम लिएर उडेको हुनसक्छ,’ उनले भने । निगमका निकाय, एयरलाइन्सका मालिक र मन्त्री भएकाले सानोतिनो जोखिम टार्न सकिन्छ भनेर लिएको जोखिमले ठूलो दुर्घटना भएको अनुमान मानन्धरको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परेको हेलिकप्टर १२ हजार ४४८ फिट उचाइमा ७ जना यात्रु बोकेर उडेको थियो । मानन्धरका अनुसार जाँदा तौल बढी भए पनि फर्किएर तेल खपत भइसकेकाले तौलका कारण जोखिम कम भएको हुनुपर्छ । तर त्यो अल्टिच्युडमा यात्रु बोक्नु र नियम केलाउने हो भने १० हजार फिटमाथि उड्दा अक्सिजन लगाउनुपर्ने नियम पनि पालना भयो कि भएन भनेर पनि हेर्नुपर्ने मानन्धर बताउँछन् ।

प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली दुर्घटनालाई इतिहासभन्दा फरक रूपमा हेर्नुपर्ने बताउँछन् । उनले भने, ‘साधारण मान्छेले बुझ्ने त मौसम हो । तर विस्तृत विवरण अनुसन्धानबाटै आउँछ ।’ पाइलटले कसैले दबाब दिँदैमा ज्यानै जाने गरी जोखिम लियो भनेर भन्न नसकिने उनले बताए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

हेलिकप्टर दुर्घटनाः सरकारबाट दुःख व्यक्त सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा सवार सबै जनाको निधनप्रति दुःख व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त दुःखद् घटना भएकामा फागुन १६ गते राष्ट्रिय शोकको दिन घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उनीहरू सवार एयर डायनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

अकल्पनीय, अप्रत्याशित र दुःखद् सो घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति भएको जनाउँदै सरकारले यस घडीमा अत्यन्तै गहिरो दुःख र शोक व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेको छ । बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति पनि प्रकट गरेको छ ।

सार्वजनिक बिदा सरकारले बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले दिवङ्गतको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने र यसका लागि सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतम अध्यक्ष रहनुभएको चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगका सदस्यमा सहायकरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र सदस्य सचिवमा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

त्यस क्षेत्रमा विमानस्थल निर्माणका सम्बन्धमा जनप्रतिनिधि, विभिन्न निकायका पदाधिकारी एवं स्थानीय सरोकार पक्षसँग अन्तक्र्रियापछि सम्भाव्य स्थानको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्र्कंने क्रममा पाथीभरा मन्दिरको पश्चिमतर्फ फुङ्लिङ नगरपालिका वडा नं १० मा पर्ने फुरुम्बु दारेढुङ्गा, सिस्नेभीर क्षेत्रमा अपराह्न १२ः४० बजे हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ ।