सुकेटार, १६ फागुन – दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाण्डु पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाण्डु पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाण्डुतर्फ पठाउन ढिलाइ भइरहेको छ ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाण्डु पठाइनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।