काठमाडौं – तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा भएको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको शुक्रवार पोखरामा अन्त्येष्टि गरिएको छ । गत २ चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको जिम्मेवारी सम्हालेका उनको कार्यकालको १ वर्ष पुग्नै लाग्दा निधन भयो । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता केही महत्त्वपूर्ण काम गरेका छन् ।
विमानस्थल २२ घण्टा सञ्चालन
दैनिक १७ देखि १८ घण्टा सञ्चालन हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उनकै कार्यकालमा दैनिक २२ घण्टाका दरले सञ्चालन हुन थालेको छ । विमानस्थलको सञ्चालन अवधि २२ घण्टा पु¥याएसँगै यात्रुका लागि सहज स्थिति सिर्जना भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सञ्चालन अवधिमा भएको वृद्धिसँगै एयर ट्राफिक व्यवस्थापनमा सजिलो भएको जानकार बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालीन सेवा समेत उनकै कार्यकालमा शुरू भएको थियो । रात्रीकालीन सेवा सञ्चालनमा आएसँगै यात्रुलाई थप सहजता भएको सम्बन्धित अधिकारी बताउँछन् ।
गौतमबुद्ध विमानस्थलको काम तीब्र
सुस्तगतिमा काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले मन्त्री रविन्द्र अधिकारीकै कार्यकालमा तीव्रता पायो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि सन् २०१७ को डिसेम्बरसम्म २६ प्रतिशत मात्रै थियो ।
पछिल्लो समय ६७ प्रतिशत निर्माण सकिएको छ । आगामी सेप्टेम्बरदेखि विमानस्थल सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्री अधिकारी बताउँदै आएका थिए । उनको कार्यकालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले समेत तीव्रता पाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम निर्धारित समयभन्दा ७ महिनाअघि नै सम्पन्न हुने गरी काम भइरहेको मन्त्री अधिकारी बताउँदै आएका थिए । पछिल्लो समय विमानस्थल निर्माणको काम करीब ३० प्रतिशत सम्पन्न भइसकेको छ ।
३१ ठाउँमा हवाई सेवा सञ्चालनमा
मुलुकका ठूला विमानस्थल मानिँदै आएका भद्रपुर विमानस्थल, विराटनगर विमानस्थल, नेपालगञ्ज, भैरहवा, धनगढी, जनकपुरको स्तरोन्नति भएको छ । यी ठाउँमा हुने उडान राति समेत हुने गरेका छन् ।
उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि मुलुकका विभिन्न ठाउँमा गरी करीब १ दर्जन एयरपोर्ट सञ्चालनमा रहेपनि उनको कार्यकालमा ३१ विमानस्थल सञ्चालनमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको स्तरोन्नतिका लागि नयाँ कालोपत्रेको काम शुरू गर्न उनले पहल शुरू गरेका थिए । त्यसका लागि उनले करीब २ हप्ताअघि मात्रै आवश्यक तयारीको निरीक्षक गरेका थिए ।
थप हवाई प्रवेशका लागि पहल
भैरहवा र जनकपुरबाट क्रस बोर्डर हवाई प्रवेश बिन्दू उपलब्ध गराउन भारतसँग छलफल उनकै कार्यकालमा भएको थियो । छलफलमा दुवै स्थानबाट प्रवेश बिन्दू उपलब्ध गराउन भारत सहमत समेत भएको छ । त्यसका लागि रूट निर्माण गर्न नेपाल र भारतले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आईकाओ) मा संयुक्त रुपमा आवेदन दिएका छन् ।
काठमाडौंको चाप हटाउन काभ्रेमा विमानस्थल
मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप हटाउनका लागि काभ्रेको नागीडाँडामा विमानस्थल बनाउन विज्ञ समूह गठन गरेका थिए । विज्ञ समूहले अध्ययन गरेर काभ्रेको नागीडाँडामा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।
नागीडाँडामा विमानस्थल बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने आन्तरिक तर्फका उडान नागीडाँडामार्फत गर्ने उद्देश्य रविन्द्र अधिकारीको रहेको थियो । त्यसो गर्दा अन्तर्राष्ट्रिय तर्फका उडान मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत गरिने र सो विमानस्थलको चाप समेत कम हुने मन्त्री अधिकारीको योजना थियो ।
विदेशी सरह नेपालीको बिमा
मन्त्री रविन्द्र अधिकारीकै कार्यकालमा विदेशमा हुने हवाई दुर्घटनामा नेपाली यात्रुले पाउने बिमा रकम र विदेशी यात्रुले पाउने बिमा रकम बराबर हुने नियम बनेको थियो । अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि गत ७ भदौमा संसदबाट अनुमोदन भएको थियो । महासन्धिका प्रावधानले मुलुकलाई फाइदै–फाइदा हुने र अन्तर्राष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बिमा रकम समान हुने व्यवस्था गरिएको छ ।
वाइडबडी भित्रिए
सरकारले २ वटा वाइडबडी विमान खरिद गर्ने मनसाय आर्थिक वर्ष २०७१/०७२ देखि नै बनाएपनि २ वटा वाइडबडी विमान भने मन्त्री रविन्द्र अधिकारीकै कार्यकालमा नेपाल आइपुगे । यद्यपि ती विमान खरिदमा अनियमितता भएको विषयमा मन्त्री रविन्द्रको नाम जोडिएपनि त्यसको पुष्टि हुन सकेन । वाइडबडी खरिदका लागि निर्णय गर्न मन्त्री अधिकारी नहिच्काएकै कारण २ वटा वाइडबडी चाँडो नेपाल भित्रिएको जानकारहरू बताउँछन् ।
मोदीसँगै मुक्तिनाथ
मन्त्री अधिकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा मोदीसँगै मुक्तिनाथ र पशुपतिनाथ मन्दिर पुगेर मोदीलाई विभिन्न विषयबारे जानकारी समेत गराएका थिए ।
लोकान्तर बाट साभार










