अभियानको क्रममा सुनसरीमा एकदिन समाजका समस्या हरु के के हुन र कसरी ती समस्याको समाधान निस्कन सक्छ भन्ने बिषयमा छलफल हुँदै थियो। एकजना मित्रले कुरा उठाउनु भयो सबैभन्दा ठूलो समस्या हाम्रो मानसिकता हो जबसम्म त्यो मानसिकतामा परिवर्तन आउदैन तबसम्म हामी प्रगति गर्न सक्दैनौं । त्यसैले यो लेख लेख्ने जमर्को गरें।

मैले अलि स्पष्ट हुन प्रश्न राखें, जस्तो कि कुनै उदाहरण हुन सक्छ? छेवैका अर्को एकजना मित्रले प्रष्ट्याउनु भयो, जस्तो कि म यहीँ नेपालमै केही उद्यम गर्छु भनेर कसैले भने उसको कुरालाई समर्थन हुदैन, केही हजार रकम लगानी गर्न समेत परिवार डराउछ तर विदेश जाने भनेको खण्डमा लाखौं रुपैयाँ लगानी गर्न परिवार तयार हुन्छ। आफ्नै देशको उद्यम भन्दा वैदेशिक रोजगारी सुरक्षित छ भन्ने मानसिकता हाम्रो समाजको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्को समस्या देखियो बेरोजगारी , बेरोजगारी नै हाम्रो प्रमुख समस्या होइन भन्ने तर्कहरु पनि आए। जस्तो बिराटनगरका धेरैजस्तो उद्योग हरुमा कामदार हरुको अभाव छ तर नेपाली कामदार सहजै नपाइने हुनाले गाडिका गाडी कामदार हरेक दिन भारतीय भुमी जोगवनी बाट ल्याइन्छ्न।

सुबास सुबेदी 

एकजना मित्र जो कन्स्ट्रक्सनको काम गर्नुहुन्छ वहाँले मलाइ भन्नुभयो नेपाली हरु ११०० दिदा नि काम गर्न अल्छी मान्छन, लाज मान्छन तर भारतीय कामदार हरु १००० मै काम गर्न तयार हुन्छन।

मैले भोगेको सानो अनुभव बताउछु। करिब ७ बर्ष अघि म काठमाडौ बाट झापा फर्केर के गर्ने भन्ने अलमल मा परिरहेको थिएं, कतै शिक्षण गर्ने या कुनै जागिर गर्ने भनेर । त्यतिकैमा मेरो एकजना साथिले gionee mobile को सेल्सम्यान बन्ने अफर दिए , उनकै सिफारिसमा मैले gionee को मेची कोशी आधिकारिक विक्रेता अरुण इलेक्ट्रोनिक मा काम पाए, महिनाको तलब थियो १२,००० रुपैयाँ । उक्त रकम मेरो साधारण खर्च धान्न काफी पनि थियो।

तिहारको छुट्टिमा म घर आउदा साथिभाइ को बेरोजगारी समस्या देखेर चिन्तित भए। एकजना छिमेकी काका घर बनाउने ठेकदार बन्नुभएको रहेछ। वहाँ सग कुरा गर्दा ५ जनालाई काम दिन सक्छु भन्नुभयो । मैले केही भाइ हरुलाइ यो कुरा राख्दा उनिहरुले नगर्ने दाइ भने। त्यसपछि मैले नै त्यो काम शुरु गरें, खाल्डो खन्ने बालुवा बोक्ने इट्टा बोक्ने सिमेन्टको मसला मुछ्ने आदि आदि। सेल्सम्यानको जागिर मैले छोडें।

हुन त धेरै जनाले यत्रो पढेको मान्छेले यस्तो काम गर्छन भनेर भन्नुभएको थियो, मेरो बुबाको समेत मेरो कामप्रति चित्त बुझेको थिएन त्यसैले मलाई घरीघरी जागीरको अफरहरु सुनाउनु हुन्थ्यो, तर मलाई केही समय त्यही काम गर्नुथियो।एकदिन मलाई सानैदेखि माया गर्ने एकजना आन्टिले त्यो काम गर्दै गरेको देखेर भन्नुभयो, थुक्क यत्रो पढेको मान्छे यस्तो काम गर्न लाज लाग्दैन? मैले वहाँ लाई भनें काम गरेर खान केको लाज आन्टी ? चोरेर पो खानुहुन्न त। मनमा भने समाजको यो सोच कसरी बदल्न सकिएला भनी सोच्दै थिएं।

मैले काम गर्न थालेको केही महिना पश्चात् गाउका केही भाइहरु काम गर्न आउन थाले, लेवर बाट त्यतिन्जेलमा म मिस्त्री बनिसकेको थिए। अलिपछी मेरो मलेसियाको भिसा लाग्यो र मैले काम छोडें। तर मलेसिया भने जान मन लागेन र यहीँ समाजको निम्ति केही गर्छु सोचें । मेरो त्यो कामले केही भाइहरुमा काम गर्नुपर्छ भन्ने भावना जगाउन सकें जस्तो लाग्छ। शायद मानसिकता परिवर्तन गर्न आफैं अगाडि सरेर देखाउनु पर्दोरहेछ कि ?

कलेज पढ्दा ताका मैले अनुभव गरेको अर्को एउटा प्रसङ्ग जोड्न चाहन्छु। म अस्कलमा आइएस्सी पढ्दै थिएं। कलेजमा बाटो क्रस गर्न आकासे पुल बनाइएको थियो। त्यही आकासे पुलमुनिको एउटा कुनामा फोहोर फालिएको हुन्थ्यो, दिउँसो सफा गरेपनी भोलिपल्ट फेरि उस्तै फोहोर हुन्थ्यो । त्यही कुनामा दिउँसो धेरैजना पिसाब फेर्ने गर्थे। गर्नेलाई लाज हुन्नथ्यो तर हामी देख्नेलाइ साह्रै लाज हुन्थ्यो। कलेज गेटै अगाडि यस्तो कार्य भएको देखेर हामी केही साथीहरू चिन्तित भयौं र केही दिन त्यसरी पिसाब गर्ने हरुलाइ सम्झायौं। तरपनि समस्या ज्युका त्यु भएपछि हामीले दण्ड गर्ने सल्लाह गर्यौं र केही साथीहरू मिलेर पालैपालो त्यो ठाउँको रखवाली गर्न थाल्यौं । भित्तामा यहाँ पिसाब र फोहोर गर्नेलाई रु सय जरिवाना लेख्यौं र पिसाब गर्नेलाई जबर्जस्ती नै उक्त जरिवाना तिराउन थाल्यौं । यो क्रम केही महिना चल्यो र लगभग पिसाबको समस्या हटेपनी राती फोहोर फाल्ने समस्या हटेन , पछि कलेजले नै त्यहा सानो कोठा बनाएर चियापसल को रुपमा भाडामा लगाउन थाल्यो।

हामी हाम्रो देश अमेरिका जस्तो बनोस भन्ने चाहन्छौं तर कुना पाउने बित्तिकै सुसु गरि हाल्छौं। पराग खाएर खोल बाटोमा फाल्छौं, गाडीमा पानी पिउछौं र बोटल बाटोमा फाल्छौं। सरकार निकम्मा भयो भन्छौं र फेरि पनि चुनावमा त्यही पार्टी लाई भोट हाल्छौं।

हामी हाम्रो देशमा सिमेन्ट मुछ्ने काम गर्न हिच्किचाउछौं तर ३० हजार रुपैयाँको निम्ति ५५ डिग्रीको घाममा त्यही काम गर्न खाडी जान तयार छौं । भनेपछि समस्या अरु कहाँ रहेछ त? हाम्रै मानसिकतामा रहेछ। त्यसैले हाम्रो मानसिकता मा परिवर्तन गर्न आफैंबाट पहिलो अभ्यास शुरु हुन जरुरी छ। काम गर्न लाज नमाने बेरोजगार रहनुपर्दैन। फोहोर गर्न लाज माने शहर सफा हुन थालीहाल्छ। जबदेखी हाम्रो मानसिकतामा परिवर्तन ल्याउन शुरु गर्छौं , यो देश बन्न शुरु गरिहाल्नेछ। समाज परिवर्तनको आवश्यकता हामीले आफ्नो सोच परिवर्तन गरेर मात्रै पूरा हुनसक्छ ।।