काठमाडौ । विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सरकारी विद्यालयका अस्थाई र राहत शिक्षकहरुले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएका छन्।

आफ्ना माग सम्वोधन नगरि सरकारले उल्टै दमन गरेको भन्दै आन्दोलनरत अस्थाई र राहत शिक्षक संगठन केन्द्रीय समितिले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतवार शान्तिपूर्ण प्रदर्शनमा रहेका शिक्षकमाथि प्रहरीले वानेश्वरमा बल प्रयोग गरेको थियो। प्रहरी कार्वाहीमा केही शिक्षक घाइते समेत भएका छन् ।

माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरुलाई वानेश्वर पुगेपछि प्रहरीले रोकेको थियो।वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो ।

पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो । आन्दोलनरत राहत शिक्षक दीपक सिटौलाले भने, ‘थुप्रै शिक्षक घाइते भएका छन् । केहीको टाउकोमा चोट लागेको छ । केहीको खुट्टा समेत भाँचिएको छ । ’

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।

आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए ।