१४ फागुन– एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान रोक्न प्रयास गर्ने शक्ति निर्वाचन हुन नदिने षडयन्त्रमा लागेको वताएका छन् । पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले जित्ने चुनाव नगर्न पनि त्यस्ता शक्तिहरुले दवाव दिन थालेको वताए ।
‘एमालेले जित्छ भने किन चुनाव गराउने उनीहरुको सोच त्यस्तो छ । चुनाव नगर्न खोज्दैछन्, तर नगरेर उम्केर कहाँ जान्छन् ?’ ओलीले भने, ‘म भन्न चाहन्छु– जित्छ एमालेले । अव के गर्छाै ? तिमीहरु आत्तिनेगरी जित्छ ।’ महाभारतको युद्धमा पाण्डवहरुले जित्ने अवस्थामा पुगेपछि दुर्याेधन पानी मुनी गएको र भीमसेनले पानी मुनीबाट ल्याएर भए पनि दुर्याेधनलाई पराजीत गरेको ओलीले स्मरण गरे । ‘महाभारत युद्ध सकिएपछि दुर्याेधन पानी मुनी गएर लुक्यो’ ओलीले भने, ‘तपाईं दोलखावासीहरुलाई भीमसेन को हो थाहा छ । भीमसेनले पानीमुनीबाट ल्याएर पनि दुर्याेधनलाई गदाले प्रहार गरेर पराजित गरे ।’
लोडसेडिङ अन्त्य गर्न कसैले जादु गरेको होइन
ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजना ल्याएकाले सोही तयारी अनुरुप लोडसेडिङ अन्त्य भएको वताए । ‘मैले पोहोर असोजमा भनेँ– आउने तिहार उज्यालो हुनेछ, अर्काे वर्षदेखि लोडसेडिङ हुने छैन’ ओलीले भने, ‘मेरो जिभ्रो थुतौंला झैं गरे विद्वानहरुले । कम्तिमा १० वर्ष लोडसेडिङ अन्त्य हुनै सक्दैन, प्रधानमन्त्री बहुलायो भने ।’
त्यसबेला विद्युत आपूर्ति बढाउने र वितरण ब्यवस्था परिवर्तन गर्न आफ्नो सरकारले योजना ल्याएको ओलीले स्मरण गरे । ‘आपूर्ति बढाउनु पर्छ र विद्युत वितरणको ब्यवस्था परिवर्तन गर्नु पर्छ भनेर सबै तयारी गर्यौं । भारतसँग मुजफ्फपुरको लाइनको सम्झौता गर्यौं’ ओलीले भने, ‘भारतबाट विद्युत ल्याउने काम गर्यौं, । हाम्रा आयोजनाहरु बढायौं, लोडसेडिङ नहुने अवस्थामा पुर्यायौं । कसैले आएर जादु गरेको होइन हामीले मेहेनत गरेर त्यस विन्दुमा पुर्याएका हौं ।’
संविधान जारी हुन नदिनेहरु बोल्न थाले
ओलीले गतसाल संविधान जारी हुन नदिने शक्तिहरु अहिले चुनाव पनि हुन नदिने र त्यसबेला आफूले भनेको नमानेका कारण चुनाव हुन नसकेको वताउन थालेको जनाए । उनले देशलाई कता लैजाने भन्ने विषयमा दुई प्रकारका शक्तिबीच तानातान भइरहेको वताए । ‘दुई प्रकारका शक्ति देशलाई कता लाने भनेर तानातान गरिरहेछन् । एउटा लोकतन्त्र, राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिको बाटोतिर लैजानु पर्छ भनिरहेका छन्’ ओलीले भने, ‘तर, अर्काे शक्ति आफ्नो संकिर्ण स्वार्थ कहाँबाट पूरा हुन्छ भनेर भाँड्न खोज्दैछन् ।’
उनले जनताका प्रतिनिधिहरुले स्थानीय तहमा शासन गर्ने भए भनेर केहीलाई पीर पर्न थालेको वताए । ‘स्थानीय निकाय १५ वर्षदेखि जनप्रतिनिधि बिहीन छन् । हामीले दवाव सिर्जना गरेर निर्वाचनको घोषणा गर्यौं तर, स्थानीय तहमा जनताका प्रतिनिधिले शासन गर्ने भए भनेर एकाथरी बहिस्कार गर्छाैं भनेर उफ्रिन्छन्’ ओलीले भने, ‘केही तत्वहरु चुनाव रोकौं भनिरहेका छन् । केही तत्व मैले संविधान नै रोकौं भन्दा नमानेकाले यस्तो भयो भनिरहेका छन् ।’ पूर्व राष्ट्रपति डा रामवरण यादवले आफूले केही दिन संविधान जारी गर्न रोकौं भनेको नमानेपछि मुलुक समस्यामा गएको शुक्रवार दावी गरेका थिए ।
प्रतिगमनकारी र देशविरोधी सल्बलाए
ओलीले अहिले प्रतिगमनमा देशलाई लैजाने वा देशको अस्तित्व नै समाप्त पार्ने दुई खाले षडयन्त्र भइरहेको वताए । ‘एकातिर जनताले शासन गर्न सक्दैनन् लोकतन्त्र काम लाग्दैन भन्दै कुनै घरानालाई नै शासन दिनु पर्छ भनेर जनतालाई अपमान गर्ने प्रतिगामी सोच बोकेका तत्वहरु सक्रिय छन्’ ओलीले भने, ‘अर्काेतिर राष्ट्रको अस्तित्व नै समाप्त पार्ने प्रयासहरु भइरहेका छन् ।’
एमाले आउँदा तहल्का
एमालेले सरकारको नेतृत्व गरेका बेला देशमा विकासको लहर आएको वताउँदै ओलीले अव देश पछाडि परिरहन नसक्ने वताए । ‘एमाले छ, अव देश पछाडि परिरहन गरिव भइरहन सक्दैन । जव एमाले सरकारमा पुग्छ तव तहल्का हुन्छ । ०५१ सालमा अल्पमतको सरकार थियो, हटाइयो’ ओलीले भने, ‘यसपल्ट हामीले विभिन्न प्रकारका तत्व मिलाएर सरकार बनाउनु परेको थियो । एमालेले एउटा देशबाट वेष्ठित अवस्थाको देशलाई मुक्त गर्यो, देशमा केही हुँदैन भन्ने अवस्थाबाट माथि उठाएर नेपालको राष्ट्रिय आत्मविश्वास बढायो ।’
हात्ती विरुद्ध स्यालको मोर्चाबन्दी
ओलीले नेपालमा अस्थिरताको पक्षमा रहेकाहरुले जात र क्षेत्रका नाममा लडाउन खोजेको वताए । ‘उनीहरुले यो जात र त्यो जात भनेर लडाउन खोजेका छन् । हामीले सबै नेपाली एक भएर समृद्धिमा अघि बढ्नु पर्छ भनेर लाग्यौं’ ओलीले भने, ‘हाम्रो भूमिकाबाट उनीहरु आत्तिए । लोभीपापीहरुलाई डर त्रास देखाएर र किनेर एमाले नेतृत्वको सरकार ढाले । सरकार ढाले तर, प्रभाव ढाल्न सकेका छैनन् ।’
एमाले विरुद्ध सबैले मोर्चाबन्दी गरे पनि सबैलाई पराजित गर्ने ओलीको भनाई थियो । ‘एमालेका विरुद्ध सबै एकजुट हुन्छन्, बलियासँग लड्न एकजुट हुनै पर्यो’ ओलीले भने, ‘तर, एकजुट भएर पनि पार लाग्दैन । स्यालले जति मोर्चाबन्दी गरे पनि हात्तीको शिकार गर्न सक्दैन । वरपर आउन खोज्छन् हात्तीले कुल्चेला भनेर भाग्छन् । चुनाव यस्तै भइरहेको छ यिनलाई ।’



