दमक। झापाको कमल गाउँपालिकामा आयोजना गरिएको एक महिने दन्त शिविरको औपचारीक समापन गरिएको छ । आज गाउँपालिकाको स्वास्थ्य साखाले एक कार्यक्रमको आयोजना गरि शिविर सम्पन्न भएको जनाएको हो । कमल गाउँपालिका स्वास्थ्य साखाले आयोजना गरेको सो निःशुल्क दन्त शिविरमा गाउँपालिका भरिका २१ सामुदायिक विद्यालयका ५ हजार एक सय ९६ विद्यार्थीहरुको दन्त परीक्षण गरिएको स्वास्थ्य साखा प्रमूख रामचन्द्र मिश्रले जानकारी दिनु भयो ।
दमक स्थित ऊँ शान्ति डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न भएको सो शिविरमा ३ हजार ४ सय ९१ जनाको दाँत किराले खाएको तर नदुखेको, ८ सय ९१ जनाको दुखेको, ६ सय १६ जनाको स्वास गन्हाउने समस्या भएको,२ हजार ३ सय ८७ जनाको गिजाबाट रगत आउने समस्या भएकको, ६ सय २३ जनाको दाँत फुकालेको र ३ सय २१ जनाको दाँत बाँडाटिंगा पाइएको डेन्टलका संस्थाक डा. हेमराज गैरेले जानकारी दिनु भयो ।
समापन कार्यक्रममा बोल्दै डेन्टलका निर्देशक तेज राज घिमिरेले गाउँपालिकासँगकोे सहकार्य निरन्तर रहिरहने र गाउँपालिकासँगको सहकार्यकै कारण गाउँपालिका भरिका विद्यालयका विद्यार्थीहरुलाई विशेष छुटमा सधैं दन्त परिक्षण गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै कार्यक्रमको अध्यक्षता गर्नुभएको गाउँपालिकाको प्रमूख मेनुका काफ्लेले दन्त शिविर सम्पन्न गर्न सहयोग गरेकोमा ऊँ शान्ति डेन्टल हस्पिटल परिवारलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताउँनु भयो ।
कार्यक्रममा शिविरमा दन्त परिक्षण गर्ने डाक्टरहरु डा. सिपी गैरे, डा.हेमराज गैरे,डा.कमला पौडेल,डा.इमाम खान,डा.कृतिका श्रेष्ठ,डेन्टल हाइजेनिस्ट सरिता न्यौपाने,हस्पिटलका निर्देशक तेजराज घिमिरे,व्यबस्थापक कमल गैरे लगायतलाई गाउँपालिकाको प्रमूख मेनुका काफ्ले,उप प्रमूख वेणुराज शिवाकोटी लगायतले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उप प्रमूख वेणुराज शिवाकोटी,गाउँपालिकाका प्रमूख प्रशाशकिय अधिकृत युवराज ढकाल,गाउँपालिकाकी लेखा अधिकृत श्रृजना राई लगायतको उपस्थित रहेको थियो ।










