धनगढी- जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि सांसद रेशम चौधरीले मुद्दाको पुनरावेदन गर्ने भएका छन् ।

जनअपेक्षा विपरीत र नियतपूर्ण ढंगले फैसला आएको भन्दै उनी जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध मुद्दाको पुनरावेदन गर्दै उच्च अदालत जाने भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रेशम चौधरीका कानून व्यवसायी गजेन्द्र केसीले अदालतको फैसला चित्त बुझ्दो नभएकोले मुद्दालाई पुरावेदन गर्ने जानकारी दिए । फैसलाको पूर्णपाठ प्राप्त भएलगत्तै पुरावेदन गर्ने अधिवक्ता केसीको भनाइ छ ।

जिल्ला अदालत कैलालीका न्यायधीश पुर्शराम भट्टराईको एकल इजलासले बुधवार रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरीसहित एक नाबालकको ज्यान जाने गरी टीकापुर घटना घटेपछि उनीसहित ५८ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र डाँका चोरी मुद्दा दायर भएको थियो । तर जिल्ला अदालतले डाँका चोरी मुद्दामा भने सफाई दिएको छ । मानबहादुर बोहरा समेतको जाहेरीले ५८ जनाविरुद्ध मुद्दा चलाइएको हो ।

उनी फरार रहेकै अवस्थामा कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि २०७४ फागुन १४ गते उनी जिल्ला अदालत कैलालीमा उपस्थित भएका थिए । त्यसलगत्तै उनलाई प्रमुख अभियुक्त करार गर्दै पुर्पक्षको लागि थुनामा राखिएको थियो । थुनामा रहेकै अवस्थामा उनले गत पुस १९ गते सांसद पदको सपथ लिएका थिए ।

जिल्ला अदालतको फैसलाअनुसार उनी २०९४ फागुन १३ गतेसम्म थुनामै रहनेछन् । लोकान्तर बाट साभार