विराटनगर- भ्रष्टाचारविरोधी कर्मचारीको रुपमा चिनिएका उपसचिव प्रेमप्रसाद संजेल पुनः श्रम कार्यालय विराटनगर फर्किएका छन् । मन्त्रालयले काजमा सरुवा गरेका संजेल सर्वोच्चको आदेशपछि सोही कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका हुन् ।
संजेल बुधवार बिहान ९:४५ बजे कार्यालय पुगेका थिए । गत असोज ११ गते कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेलाई पुस ६ गते सरुवा गरिएको थियो । उनलाई व्यवसायीक तथा सीप विकास प्रतिष्ठान ईटहरीमा सरुवा गरिएपछि आफ्नो सरुवा नियम विपरित भएको बताउँदै आएका थिए । सरुवा गर्नुको कुनै कारण नभएको भन्दै उनले पटक पटक श्रम मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित मन्त्रालयहरुमा यस बारेमा जानकारी गराउँदा समेत वेवास्ता गरेपछि उनले सर्वोच्च अदालतमा रिट हालेका थिए ।
निजामती सेवा ऐनमा कुनै पनि निजामती कर्मचारीलाई २ वर्षभन्दा तल बिनाकारण सरुवा गर्न नमिल्ने भएकोले आफु अदालत गएको सञ्जेलले बताए । यदि त्योभन्दा पहिले सरुवा गर्नु परेमा सरुवा गर्ने कारण समेत उल्लेख भएको हुनुपर्ने भएपनि त्यो नभएकाले आफ्नो सरुवा विरुद्ध अदालत गएका उनको भनाई छ ।
सरुवाको विरोधमा रहेका संजेल सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रीट दायर गर्न गएका थिए । सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव संजेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो ।
बुधवार देखि कार्यालयमा हाजिर भएका संजेलले तीन कामलाई प्राथमिकतामा राखेका छन् । उनले श्रम कार्यालयमा सर्वसाधरणको काम छिटोभन्दा छिटो गर्ने , आफू कार्यालय प्रमुख हुँदा निरिक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे/नगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने दावी गरेका छन् ।
यदि बढी शुल्क लिएको थाहा पाए कारवाही गर्ने र आफू बसेको कार्यालयलाई बिचौलियामुक्त बनाउने उनले प्रतिबद्धता जनाएका छन् । पुनः श्रम स्वीकृति लिन आउनेहरुलाई श्रम कार्यालय बाहिर सटर खोलेर काम गरिरहेकाहरुले काम छिटो गरिदिन्छु भन्दै गैरकानुनी काम गरे अख्तियार लगाएर जेल हाल्ने चेतावनी दिए । ‘हामीले हाम्रो कार्यालय अगाडि पैसा उठाउने एजेन्ट राखेका होइनौं,’ संजेलले भने, ‘त्यस्तो काम गरेको पाइए अख्तियारलाई बुझाइदिन्छौं।’










