लहान, १५ फागुन । उपप्रधान मन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन र तीन तहकै निर्वाचन गराई संविधान कार्यान्वयन गराउने पहिलो कार्यभार पूरा गर्न सरकार अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घको २ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आज लहानमा उद्घाटन गर्दै उहाँले सरकारले संविधान संसोधन र तीन तहकै निर्वाचनको काम अघि बढाइसकेकाले निर्धारित समयमै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।

“संविधान संशोधनका लागि सरकारले व्यवस्थापिका–संसद्मा संसोधन प्रस्ताव प्रस्तुत गरिसकेको छ”–गृहमन्त्री निधिले भन्नुभयो, “सरकारले नेकपा (एमाले), मधेसवादी दललगायतको सहमतिमै संविधान संशोधन प्रस्ताव पारित गराउने प्रयास गरिरहेको छ, विश्वास छ एमाले पनि संशोधनको पक्षमा आउँछ ।” उहाँले एमालेले मधेस र पहाडका जनताबीच दूरी बढाउने काम गरिरहेको आरोपसमेत लगाउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रादेशिक सीमाङ्कन, नागरिकता, भाषा र समानुपातिक, समावेशीलगायत चार विषयमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएकाले एमालेले भनेजस्तो संबिधान संशोधन राष्ट्रियता विरोधी नभएको जिकिर गर्दै गृहमन्त्री निधिले संशोधनपश्चात मधेसवादी दल पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा काँग्रेस नेत्री चित्रलेखा यादवले संविधान संशोधन भएमात्र मधेसका जिल्लामा निर्वाचनको वातावरण बन्ने भएकाले यसमा हेलचेक्राइँ गर्न नहुने बताउनुभयो ।

नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमलाई नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री पद्मनारायण चौधरी, सांसद महेन्द्र यादव, रामचन्द्र यादव, नेपाल महिला सङ्घकी पूर्वअध्यक्ष डिला सङ्ग्रौलालगायतले सम्बोधन गर्नुभएको थियो ।

तीनदिने सो प्रशिक्षणमा २ नं प्रदेशका आठ जिल्लाका महिला सङ्घका पदाधिकारी तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।