काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा दायर गरिएका प्रहरी कर्मचारीसँग बयान लिने क्रम शुरु भएको छ । जिल्ला अदालत कञ्चनपुरमा ६ जनासँग बयान लिन थालिएको हो ।
अदालतमा बिहीबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले प्रतिवादीहरूको बयान लिने र सोहीअनुरुप अघि बढ्ने आदेश गरेपछि ६ जनाको बयान लिने क्रम शुरु भएको हो । प्रहरी हिरासतमा रहेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सईहरू हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदसँग बयान लिने क्रम शुरु भएको हो ।
तत्कालीन डीएसपी सेठी र तत्कालीन प्रहरी निरीक्षक खड्काको बयान सकिएको छ । दुवैजना निलम्बनकै अवस्थामा प्रहरी सेवाबाट अवकाश भइसकेका छन् । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहितका ८ जनाविरुद्ध मुद्दा दायर भएको हो । अदालतमा ६ जना मात्रै उपस्थित गराइएपछि उनीहरुको मात्रै बयान लिने थालिएको छ ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार तत्कालीन एसपी डिल्लीराज विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसी भने फरार छन् । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले समाचार प्रकाशित गरेको छ ।










