काठमाण्डु, २३ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीले एक बर्षमा दुनियाँलाई चकित पार्ने गरी असाधारण सुधारको काम गरेको घोषणा गरेका छन् । नेकपा केन्द्रीय कार्यालयले आज आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रवीन्द्रको कामलाई कसैले पनि ओझेलमा पार्न नसक्ने बताए ।
‘रवीन्द्र अधिकारी एक बर्ष मन्त्री हुनुभयो । एक बर्षमा उहाँले बिर्सिन नसकिने काम गर्नुभयो, उहाँका कामहरुलाई कसैले पनि उपेक्षा गर्न नसक्ने गरी प्रभाव छोडेर जानुभयो,’ प्रधानमन्त्री ओलीले भने । उनले रवीन्द्रले गरेको जति काम कुनैपनि मन्त्रीले धेरै समयमा पनि गर्न नसक्ने बताए ।
‘रवीन्द्र अधिकारीको कामले नै सवैलाई जवाफ दिने गरेको छ, संस्कृतिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, नागरिक उडययनका क्षेत्रमा उहाँले गरेका काम र योजनाहरु असाधाराण रहेका छन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले अहिले आलोचना गर्दा मात्रै वाहवाही हुने गरेको यथार्थबीच रवीन्द्र अधिकारीले कामबाट जवाफ दिने गरेको बताए । ‘केही पनि भएन, हुँदै भएन, कतै केही भएन भन्ने छँदैछ तर यसबीचमा असाधारण कामहरु भएका छन, रविन्द्रले एक बर्षमा असाधारण कामहरु गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने ।
यस्तै अर्का नेता भरतमोहन अधिकारीप्रति पनि उच्च सम्मान प्रकट गरे । ‘भरतमोहन अधिकारी कामबाट चिनिएको ब्यक्ति हुनहुन्थ्यो । कडा शब्द प्रयोग गर्न नचाहने, मिलनसार र एउटा काममा बिश्वास गर्ने नेता हुनुहुन्थ्यो । ६ दशक भन्दा बढी नेपालको लोकतान्त्रिक आन्दोलन, बामपन्थी आन्दोलनमा सदाबहार र निरन्तर लाग्नुभएका नेता हुनुहुन्थ्यो । निरन्तर अभियन्ता हुनुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगैजीवन गुमाएका पर्यटन ब्यवसायी आङछिरिङ शेर्पा र उपसचिव युवराज दाहाल बिकाशमा लागिपरेका योद्धाको संज्ञा दिए ।
‘पर्यटन क्षेत्रमा आङछिरिङले राम्रो काम गरेर एक प्रकारको साम्राज्य जस्तै बनेको थियो । नराम्रो केही गर्नुभएन, सवै राम्रो काम गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘जहिले पनि बिकाशका कुरा गर्ने, योजना बनाउने गर्नुहुन्थ्यो युवराज दाहाल । बिकासको पक्षमा, सुशासनको पक्षम, समृद्धिको पक्षमा युवराज सधै दत्तचित्त भएर काम गर्ने गर्नुहुन्थ्यो ।’ काठमान्डू टुडे बाट










